‘निर्वाचनका सन्दर्भमा दलहरूलाई सुरक्षाकै चिन्ता’

काठमाडौँ । राजनीतिक दलहरूले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यतालिकाका सन्दर्भमा राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलमा दलहरूले सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निष्पक्ष निर्वाचन हुनेमा विश्वास दिलाउन आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूलाई विश्वासमा लिएर निर्वाचन गर्न आफूले आयोगलाई सुझाव दिएको बताए । निर्वाचन आफैमा जटिल विषयवस्तु भएको उल्लेख गर्दै उनले हाल देश नै जटिल अवस्थाको बेलामा हुन लागेकोको निर्वाचनलाई विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने ‘सामान्य निर्वाचनको बेलामा पनि देश अलि जटिल अवस्थामा हुन्छ, अहिले त अलि विषम परिस्थिति छ, देशको । जनताका विभिन्न चाहानाहरू छन् । परिवर्तनको चाहाना छ, विभिन्न चाहनाहरू देखापरेका छन्, यो सबै परिस्थितिमा गर्ने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँदलीरहित हुनसक्नेमा निर्वाचन आयोग कति स्पष्ट छ, या ढुक्क छ । निर्वाचन आयोग ढुक्क छ भन्नेमा राजनीतिक दलहरू जानकार हुनुपर्यो । त्यो स्थिति हो भने निर्वाचन गर्दा त केही कुरा भएन । त्यसकारण त्यो सवालमा पनि प्रश्नहरू उठेको छ । त्यसमा निर्वाचन आयोगले ध्यान दिनुपर्छ भन्ने विषय हो । सँगै केही प्राविधिक कुराहरूलाई राजनीतिक दलका केही अप्ठ्याराहरू छ, राजनीतिक दलहरूसँग संवाद गरेर दुईपक्षिय होला, तीनपक्षिय होला । ती कुराहरूलाई समाधान गरेर स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास आम जनतालाई हुनुपर्छ ।’
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सबै राजनीतिक दलसँगको सहमति र सुझावको आधारमा निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताए । निर्वाचनको लागि सरकारले र आयोगले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गरेर देशभरिको सुरक्षा व्यवस्थाको जानकारी लिनुपर्ने उनको भनाई छ ।
उनले निर्वाचन अपरिहार्य भएको बताए । उनले आयोगले सबै राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताए । विदेशमा रहेका र नेपालभित्रै पनि एक क्षेत्रबाट अर्को क्षेत्रमा मतदान गर्ने पाउने कुरा उठेको उल्लेख गर्दै उनले त्यस्तो गर्न नहुने बताए । सम्बन्धित निर्वाचन क्षेत्रबाट मात्रै मतदान गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । उनले निर्वाचनमा दलहरुबीच गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले भने ‘विदेशमा रहेका नेपालीलाई मतदानको कुरा आएको छ । अनलाइनबाट गराउने कि हुलाकबाट गराउने ? खर्च कसले तिर्ने ? अनलाइन ह्याकिङ हुने सम्भावना छ । साथै नेपालभित्रै एउटा निर्वाचन क्षेत्रकालाई अर्को निर्वाचन क्षेत्रबाट मतदान गराउने कि भन्ने कुरो पनि सुझावमा आएको छ । यो पनि हुलाकबाट पठाएपनि पैसा लाग्ने भो, अनलाइनबाट गरेपनि ह्याकिङको सम्भावना छ, त्यसकारण देशलाई सन्तुलित विकास गर्ने, सम्बन्धित निर्वाचन क्षेत्रबाटै जनतालाई मतदान गराउने र उम्मेदवार हुनेहरू जितिसकेपछि आफ्नो निर्वाचन क्षेत्र छोडेर आफू शहरतिर जान नपाउने व्यवस्था गर्नुपर्छ । चुनाव हुनुअघि आफ्नो निर्वाचन क्षेत्र बस्ने अनि जितिसकेपछि चाहिँ जनतालाई छाडेर आफू चाहिँ शहरतिर जाने यो चाहिँ गर्न हुँदैन ।’
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राजनीतिक दलसँग प्रतिनिधि सभाको अन्तर्गतको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यतालिकाका बारेमा छलफल गरेको जानकारी दिए । उनले दलहरूसँगको छलफलबाट अन्तिम रूप दिइसकेपछि राजपत्रमा प्रकाशित गर्ने बताए ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन, मतदाता नामावली लगायतका बारेमा छलफल गरिएको उल्लेख गरे ।








