पूर्वप्रधानमन्त्री झलनाथ खनालको आक्रोश-

‘जेनजी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ता : योगदानको अपमान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पुराना कम्युनिष्ट नेता झलनाथ खनालले जेनजी आन्दोलनका क्रममा आफ्नी पत्नी रविलक्ष्मी चित्रकारमाथि भएको ज्यान लिने प्रयास र त्यसपछिको सरकारी उदासीनताप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् । आन्दोलनकारीले उनको निवासमा आगजनी गरी हत्या प्रयास गर्दा गम्भीर घाइते भएकी चित्रकार हाल अस्पतालमा उपचाररत छिन् ।

चार दशकभन्दा बढी समय फिजिक्स प्राध्यापन गरेकी चित्रकारको स्वास्थ्य अवस्थाबारे सरकारले एक शब्द पनि नसोधेको भन्दै खनालले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रश्न उठाए । खनालले भने, ‘सरकारले जेनजी आन्दोलनका क्रममा भएका हत्या र घाइतेहरूको छानबिन गर्ने, शहीद घोषणा गर्ने र निःशुल्क उपचार गर्ने कुरा ग-यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उनी ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुन् । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उनलाई बचाइयो, तर अहिले अस्पतालमा छिन् । म प्रश्न गर्न चाहन्छु, उनी घाइते हुन् कि होइनन् ?’

उनले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताए । चार दशकसम्म देशलाई योगदान दिएकी प्राध्यापकको उपचारमा सरकारको भूमिकामाथि उनले प्रश्न गरे । सरकारले जेनजी घाइतेहरूलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन बसेको छ । खनालले थपे, ‘तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु- उनी घाइते हुन् कि होइनन् ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।’

घर जल्यो, सम्पत्ति खरानी, बैंक खाता शून्य
घटनाको क्रूरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । उनको सम्पत्ति नष्ट भएको छ । उनले भने, ‘मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पत्ति पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ, खर्च हुन्छ- यस्तै छ मेरो अवस्था ।’

आफूसँग धेरै सम्पत्ति नभएको बताउँदै उनले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गरे । सोही जग्गामा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ । उनले भने, ‘सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो- ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटिइभिटी हेर्नुहोस्, प्रधानमन्त्रीज्यू । यस्तो व्यक्तिकी श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?’

सरकारको दोहोरो मापदण्ड : सामान्य घाइतेलाई राहत, पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई बेवास्ता
सरकारले जेनजीका मृतक र घाइतेहरूलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याए पनि खनाल दम्पतीप्रति पूर्ण मौन छ । खनालले आम जनता, परिवार र जीवनसङ्गिनीको तर्फबाट प्रश्न गरे, ‘यो देशको सरकारलाई सोध्छु- घाइते प्राध्यापकको उपचार दायित्व हो कि होइन ?’

यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्वनेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, देशलाई योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता पनि हो । खनालको यो सार्वजनिक अपीलले सरकारमाथि दबाब बढाएको छ । यस विषयमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =