जेनजीका माग पूरा नभईकन निर्वाचन हुँदैन : सुदन गुरुङ

काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले आफ्ना मागहरू पूरा नभएसम्म निर्वाचन हुन नदिने कडा चेतावनी दिएका छन् । बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेका संरचना हटाउने क्रममा त्यहाँ पुगेका उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका हुन् ।

गुरुङले आफूहरूका माग पूरा नभए अर्को सशक्त आन्दोलन चर्काउने र त्यसको सम्पूर्ण जिम्मा गृहमन्त्री अर्यालले लिनुपर्ने बताए । उनले गृहमन्त्री अर्यालले जेनजीका हरेक वार्तामा संलग्न भई मागहरू पूरा गर्ने विश्वास दिलाएको तर हालसम्म त्यसअनुसार काम नभएकोमा आक्रोश पोखे ।

‘समग्र जेनजीको टिम एक ठाउँमा छ,’ गुरुङले भने, ‘एक दुई जना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई पनि बोलाउँछौं । माग पूरा नभई कसरी चुनाव हुन्छ ? यो सबै कुराको जिम्मा गृहमन्त्रीज्यूले लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा त मलाई संविधानविद् भनेर चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हुँ भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने हामीलाई धोका दिएको हो । अहिले आएर चुनाव-चुनाव भन्नुहुन्छ ।’

गुरुङले आफ्ना मागहरू पूरा नगरी गृहमन्त्री निर्वाचनको रटानमा लागेको भन्दै यो धोका भएको टिप्पणी गरे । यदि माग पूरा नभए गृहमन्त्री अर्याललाई निर्वाचन महँगो पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =