एक सय २० दिनभित्र लिग गर्न तयार छौँ– एन्फा

काठमाडौँ । नेपाली फुटबलको शीर्ष डिभिजन शहीद स्मारक ‘ए’ डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवाला तयार भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लब र फुटबल खेलाडीबीच भएको छलफलबाट अबको एक सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।

गत कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकबाट एन्फा र क्लबले आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेका थिए । यस वर्ष पनि लिग नहुने भएपछि गत बिहीबार एन्फामा फुटबल खेलाडीहरूले आन्दोलन गरेका थिए । यसपछि नै एन्फाले सोमवार आफ्नै कम्प्लेक्समा नै खेलाडीलाई बैठकमा बोलाएका थियो ।

तर उनीहरूले उक्त बैठक लाइभ गर्न माग गरेपछि सम्भव भएन र मङ्गलवारका लागि सिंहदरबारमा भएको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सिंहदरबारमा मंगलवार बोलाएको बैठकमा १४ मध्ये तीन विभागीयसहित पाँच क्लब मात्र सहभागी भए । सरोकार पक्ष क्लब पूर्ण नभए पनि एन्फाले क्लब खेल्न तयार भएमा लिग आयोजना गर्ने बताएको छ ।

एन्फाका सहायक महासचिव बद्री भट्टराईले खेलाडीहरूबाट पुसभित्र नै लिग गर्ने माग भए पनि अन्ततः एक सय २० दिनपछि नै लिग गर्ने सहमति भएको बताएका छन् । लिग गर्न क्लबलाई पनि समय आवश्यक पर्ने कुरामा छलफल भएपछि त्यो समयअवभित्र सहमति निस्किएको उनको भनाइ छ ।
क्लब खेल्न तयार हुँदा एन्फा लिग गर्न तयार नै रहेको सहायक महासचिव भट्टराईले बताएका छन् । तर यो बैठकमा १४ क्लबमध्ये पाँच वटा मात्र सहभागी रहेको उनले उल्लेख गरेका छन् ।

बाँकी क्लबसँग पनि मन्त्रालयले छलफल अगाडि बढाउने कुरा आएको एन्फाका सहायक महासचिव भट्टराईले उल्लेख गरे । एन्फाका महासचिव भट्टराईले आवश्यक परेको ठाउँमा मन्त्रालयले पनि सहजीकरण गर्ने प्रतिबद्धता आउनु सुखद पक्ष रहेको बताएका छन् । लिग हुँदा दशरथ रङ्गशालामा बिग्रिएको खण्डमा त्यसमा मन्त्रालयले पनि सहयोग गर्ने कुरा आएको उनले उल्लेख गरेका छन् । समस्या भएको ठाउँमा मन्त्रालयलाई भन्न र समस्या नहुँदा लिग आयोजना गर्न एन्फालाई निर्देशन प्राप्त भएको एन्फाका सहायक महासचिव भट्टराईले जानकारी दिए ।

भोली या पर्सीभित्र बाँकी क्लबलाई पनि छलफलमा राखेर लिगको विषयमा टुङ्गो लगाउन मन्त्रालयले तयारी गरिरहेको उनले उल्लेख गरेका छन् । भट्टराईले एन्फा बजेट नभएर लिग गर्न गराउनबाट पछि हटेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । सरोकारवाला पक्ष सबै एकजुट भएर अगाडि बढ्दा लिग सम्भव रहेको उनले बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मंगलवार बोलाएको सरोकारवालासँगको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबबिच अबको चार महिनाभित्र लिग गर्ने सहमति भएको छ । मन्त्री गुप्ताले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गरेका थिए । लामो छलफलपछि एक सय २० दिनभित्र लिग आयोजना गर्ने सहमति भनिए पनि १४ वटै क्लबको सहमति नभएकाले अभर्mै अन्यौलता छ । यद्यपि, मन्त्री गुप्ताले बाँकी क्लबसँग पनि छलफल गर्ने र उनीहरूलाई मनाउने बताएका छन् । केही क्लबहरू भने त्यो मन्त्रालयको क्षेत्राधिकारीभित्र नपर्ने र क्लब स्वतन्त्र रहेको भन्दै सिंहदरबारको बैठकमा सहभागी भएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =