प्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी- वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन् ।
नेपाल कानुन समाजले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरे । आम जनतालेसंविधानको लाभहरू भोग्न नपाएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने ‘यो संविधान राम्रो र नराम्रो कार्यान्वयन कसरी हुन सक्दछ ? नतिजा आउँदै नआउने संविधान कसरी हुन सक्दछ रु राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्दछ ? यदि संविधान राम्रो हो भने यसको नतिजा त आउँथ्यो त । जनताको सन्तुष्टिको मात्र त बढ्थ्यो त । यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त । नतिजाहरू आएनन् । के देखाउने हो र मान्छेहरू यसको लाभहरू भोग्न चाहन्छन् । पाएन भने पाएनन् भन्न पाउनुपर्छ । यसरी भन्नुपर्ने अवस्थामा आयो यो । जेन–जी पुस्ताले देशप्रति देखाएको मायाको हामीले सम्मान गर्नुपर्दछ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी आन्दोलन देशप्रति माया गर्नेहरूले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने समेत बताए ।








