मधेसका मुख्यमन्त्रीको स्वीकारोक्ति- ‘मेरो दबाबमै बर्दिबासको होटलमा शपथ भयो’

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले बर्दिवासस्थित होटलमा शपथ ग्रहण गराएको स्पष्टीकरण दिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो स्पष्टीकरण दिएका हुन् ।

आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख सुवेदी काठमाडौँ जान लागेको जानकारी पाएपछि आफूले जसरी भएपनि शपथ ग्रहण गराउन दबाब दिएको उनको स्वीकारोक्ति छ ।

उनले लोसपा लगायत केही पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई शपथ लिन नदिने जानकारी पाएपछि सुरक्षित स्थानमा शपथ ग्रहण गर्नुपरेको यादवको भनाइ छ । ठुलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुवेदीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘उहाँ काठमाडौँ जान लाग्नुभयो, मेरो शपथ नहुने भयो भनेर मलाई जानकार आइसकेपछि मैले उहाँलाई दबाब दिएकै हो । मुख्यमन्त्री नियुक्त गर्नुभयो तर शपथ नगराउने हो मैले र एमालेले तपाईँलाई घेर्छ भन्ने कुरा भनेको हो । केयरटेकरको रूपमा मुख्यमन्त्री छ । नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो । तपाईँले शपथ नखुवाईकन मेरो पद सक्रिय हुनेवाला छैन । त्यसकारण तपाई कता हुनुहुन्छ रु त्यहीबाट शपथ गराइदिनुहोस् भनेर मैले बोलेकै हो । त्यसपछि उहाँले निस्किसकेको छु बर्दिवासस्थित पानस होटलमा बोलाउनुभयो । त्यही गएर मैले नियुक्तिअनुसार शपथ खाएको हो ।’

उनले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेस र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौतीका रूपमा खडा भएको पनि बताए । उनले सरकारलाई सहयोग गर्नको लागि सहयोग गर्न सबै राजनीतिक दलहरूलाई आह्वान समेत गरे । मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =