कुलमानको ‘उज्यालो नेपाल’ पार्टी दर्ताको तयारी

काठमाडौं । नेपालमा नयाँ राजनीतिक दलको उदय हुने भएको छ । कुलमान घिसिङको अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारीमा जुटेको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री भइसकेका घिसिङले लामो समयदेखि नयाँ पार्टी गठनको गृहकार्य गरिरहेका थिए । पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिह्न ‘बिजुलीको चिम’ रहने सहमति जुटेसँगै मंगलबार दल दर्ताका लागि निवेदन दिन लागेको एक नेताले जानकारी दिए ।नवगठित यस पार्टीमा ऊर्जा मन्त्री घिसिङ तत्काल जोडिने छैनन् ।

स्रोतका अनुसार उनी एक महिनापछि मात्र पार्टीमा आबद्ध हुने तयारीमा छन् । पार्टीको संयोजकमा भने पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई तोकिएको छ । उपाध्यायको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटीसहित पार्टी दर्ताको तयारी भइरहेको छ ।

सुमना र कुलमानको बाटो अलग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ पनि यस पार्टीमा सहभागी हुने चर्चा थियो । कुलमान, सुमना र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङसहितका युवाहरूले एउटै पार्टी बनाएर अघि बढ्नेबारे छलफल पनि गरेका थिए । तर, लामो छलफलपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेको बुझिएको छ ।

सुमनाले तत्कालका लागि छुट्टाछुट्टै अघि बढ्ने निर्णय भएको पुष्टि गरिन् । ‘के भयो, कस्तो भयो अहिले भन्नु उपयुक्त हुँदैन,’ सुमनाले भनिन्, ‘तर अहिले उहाँ अघि बढिसक्नुभयो । मेरो शुभकामना छ ।’

उनले चुनावका बेला फेरि सँगै अघि बढ्ने विषयमा छलफल हुन सक्ने सम्भावना पनि व्यक्त गरिन् । कुलमानलाई अध्यक्ष मान्न उनी तयार भएकी थिइन् । तर, कुलमानले पूर्व सचिव अनुपकुमार उपाध्यायको नाम अघि सारेपछि सुमनाले असन्तुष्टि जनाएको बताइन्छ । कुलमानले मन्त्री पदबाट राजीनामा दिएर संगठन निर्माणमा लाग्नुपर्ने सुमना पक्षको माग थियो ।

यति मात्र होइन, सुमनाले ‘उज्यालो नेपाल’ भन्दा ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ जस्ता नाम राख्न सुझाव दिएकी थिइन् । कुलमान भने सुरुदेखि नै ‘उज्यालो नेपाल’ नाम राख्ने पक्षमा थिए । लोडसेडिङ हटाएको र ‘उज्यालो नेपाल’ ब्राण्ड आफूसँग रहेको भन्दै उक्त नाम नै राख्नुपर्ने उनको भनाइ थियो ।

सुमनाले ‘उज्यालो नेपाल’ नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने र त्यसले सामूहिकताको भावना नल्याउने भन्दै फरक फरक नाम सुझाव दिएकी थिइन् । चुनाव चिह्न पनि बिजुलीको चिम राख्न नहुनेमा उनको धारणा थियो ।

यसअघि, सुमनाले सामाजिक सञ्जाल फेसबुकमा ‘सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि ? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद बनाए कस्तो होला ? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ?’ भन्दै प्रश्न गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =