डा.निकोलस भूसाललाई रिहा गर्न सर्वोच्च अदालतले गर्‍यो अस्वीकार

काठमाडौं । विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका जेनजी अभियन्ता डा. निकोलस भूसाललाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ ।

भूसालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विपक्षीको पक्षमा परमादेश जारी गर्दै उनको गिरफ्तारीलाई कानूनी ठहर गरेको हो । अदालतले भूसालको गिरफ्तारी गैरकानुनी नभएको उल्लेख गर्दै बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले गत १९ कात्तिकमा भूसालको म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । उनले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनीसहितको पोस्ट गरेका थिए । त्यसलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको थियो ।

भूसालले यसअघि पनि सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतबिरुद्ध आक्रामक र हिंसात्मक अभिव्यक्ति दिएका थिए ।

गत भदौ २३ गते उनले जेनजी आन्दोलनमा भएको दमनको विषय उठाउँदै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई ‘हत्यारा’ भन्दै आलोचना गरेका थिए ।

प्रहरीले उनको अभिव्यक्तिलाई सार्वजनिक शान्तिविरुद्धको कार्य भन्दै कानूनी कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =