प्रिय सुशीला आमा माफ गर्नुस्, यत्तिकै डडेलधुरा जान सक्दिन: सागर ढकाल

काठमाडौं । अभियन्ता सागर ढकालले सरकारको काम गर्ने गति र शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै वर्तमान सरकार र निर्वाचन तयारीबारे गम्भीर प्रश्न उठाएका छन्  ।

ढकालले आफ्नो स्टाटसमा लेखेका छन्, ‘प्रिय शुसिला आमा (माफ गर्नुस्, डडेलधुरा यत्तिकै जान सक्दिन)। मलाई यो सरकारको रफ्तार र काम देखेर निकै डर लागेको छ। विश्व इतिहास बनायौँ, पुरै सिस्टम करिब जस्ताको त्यस्तै चुनाव गराउने मूडमा छ ।’

उनले सरकारका शीर्ष तहदेखि निर्वाचन आयोगसम्म सबै संयन्त्र निष्क्रिय जस्तो भएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री र निर्वाचन आयोगको नेतृत्वमा टेक्नोलोजी बुझ्ने व्यक्ति छैनन्,’  भन्दै उनले नयाँ पुस्ताको मताधिकार सुनिश्चिततामा सरकार असफल भएको दाबी गरेका छन् ।

ढकालले विशेषगरी विदेशमा रहेका नेपाली र बेजिल्ला मतदातालाई प्रत्यक्ष र समानुपातिक दुबै प्रणालीमा मतदान अधिकार दिन सरकारले चासो नदेखाएको भन्दै आक्रोश पोखेका छन् । ‘पुराना पार्टीभित्र पनि फेरि बुढाहरु नै आउने हुन्,’ उनले लेखेका छन् ।

उनले सरकारी निकायहरूबीच जिम्मेवारी पन्छ्याउने प्रवृत्तिलाई पनि प्रहार गर्दै भनेका छन्, ‘निर्वाचन आयोग गयो – गृह र कानुन देखायो; गृह र कानुन गयो – आयोग देखायो; प्रधानमन्त्री कार्यालय गयो भने ‘TIMELINE र Action हाम्रो जिम्मेवारी होइन’ भन्छन् ।’

ढकालले आफ्नो स्टाटसको अन्त्यमा प्रश्न उठाएका छन्, ‘यो चुनाव जेन जिले चाहे जस्तो गराउने जिम्मेवारी कसको हो ? हामी कहाँ गएर पूर्ण सूचना पाउन सक्छौँ र ढुक्क हुन सक्छौँ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =