गतिशील लोकतान्त्रिक पार्टीले पायो दल दर्ताको प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत लगायतले दर्ता गरेको पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।
आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न पार्टीका अध्यक्ष दिनेश प्रसाईँ, सदस्य वीरेन्द्र बस्नेत स्वयं उपस्थित भएका थिए ।
यसअघि बस्नेतको नेतृत्वमा आयोगमा दल दर्ताको निवेदन दर्ता गरिएको थियो । “सबै मिलौँ, देश बचाऔँ, देश बनाऔँ” भन्ने मूल नारासहित गठन गरिएको यो पार्टीले पुराना राजनीतिक शक्तिहरूको विकल्प बन्ने लक्ष्य लिएको जनाएको छ ।
जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनालाई संस्थागत गर्दै नयाँ सोच र ऊर्जा बोकेको पार्टीका रूपमा अगाडि बढ्ने तयारीमा रहेको गतिशील लोकतान्त्रिक पार्टीको नेतृत्वमा अध्यक्ष दिनेश प्रसाईँ, महासचिव पीयूष कायस्थ, र सदस्यका रूपमा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेत रहेका छन् ।
पार्टीले रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । पार्टीका अनुसार सबै नेपालीलाई दिगो रोजगारीको अवसर दिलाउने उद्देश्यसहित देशभर सङ्गठन विस्तारको तयारी तीव्र गतिमा भइरहेको छ ।










