‘रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छ’

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले देशमा रोजगारी सिर्जनको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् ।

ट्रेड युनियन काँग्रेसले सोमवार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा हाल विकास न्यून मात्रै हुने गरेको बताए । चालु खर्च अत्यधिक हुने तर विकास खर्च नहुने उल्लेख गर्नुहुँदै उहाँले चालु खर्चलाई न्यूनीकरण गरेर विकास खर्च बढाउनुपर्नेमा जोड दिएका हुन् ।

राज्यले छुट्याएको सबै विकास खर्चको काम भएमा देशमा नै रोजगारीको लागी आधार तयार हुने उनले बताए । रोजगारी सिर्जनाको लागि सरकारले स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए । सरकारले उद्योग व्यवसाय गर्ने सहज वातावरण बनाउनुपर्ने पनि उनको भनाई छ । उनले सीपयुक्त जनशक्ति निर्माणको लागी विद्यालय तहमा नै यसको वातावरण बनाउनुपर्ने पनि उल्लेख गरे ।

उनले भने ‘अहिले राज्यको के छ भने विकास खर्च भइरहेको छैन । चालु खर्च अत्यधिक भइरहेको अवस्था छ । हामी के भनिरहेका छौँ भने चालु खर्चलाई न्यूनीकरण गर्नुपर्यो र विकास खर्चलाई बढाउनुपर्यो । त्यसको लागी राज्यले छुट्याएको ठुलो अङ्क छ, त्यसको २५ प्रतिशत पनि रकम खर्च हुँदैन । यर्थाथमा त्यो कामहरू भयो भने रोजगारीको आधार तयार हुन्छ भन्ने हामीलाई लागेको छ । अहिले हामीले के पनि भन्ने गरेका छौँ भने रोजगारीको लागी स्वरोजगारका कार्यक्रमहरू ईन्टरप्रेनरसिपहरु बन्नुपर्यो । उद्योग, व्यवसायलाई काम गर्ने वातावरण दिनुपर्‍यो । त्यो अवस्था भयो भने त्यहाँबाट रोजगारीहरू सिर्जना हुनसक्छ । उद्योग व्यवसायलाई जुन किसिमको संरक्षण, प्रोत्साहन हुनुपर्ने थियो, त्यो भइरहेको छैन । राज्यले त्यो गर्नुपर्‍यो ।’

यस्तै अध्यक्ष कुँवरले जेनजी आन्दोलनका कारण उद्योग कारखानामा भएको तोडफोड र आगजनीका कारण धेरै श्रमिकहरू बेरोजगार हुनुपरेको बताए । ट्रेड युनियन काँग्रेसले देशमा नै रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन, जेन जी आन्दोलनमा भएको आगजनी तोडफोड लगायतका घटनामा संलग्नलाई कारबाही गर्न, आगामी निर्वाचनमा श्रमिकहरूलाई कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था गर्न, यवा तथा श्रमिकलाई पनि समावेशी रूपमा संसदीय लगायत सबै निर्वाचनमा भाग लिन पाउनेगरी कलष्टरको व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =