शिक्षकको राजनीतिक आबद्धतामाथि मन्त्री पुनको चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक तथा प्राध्यापकका पेसागत संघ-संगठनलाई राजनीतिक दलका भ्रातृ संस्थाका रूपमा स्वीकार नगर्ने आफ्नो अडान थप प्रस्ट पारेका छन् । मन्त्री पुनले शैक्षिक क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेप र त्यसले पठनपाठनमा पारेको नकारात्मक प्रभावलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने स्पष्ट पार्दै, राजनीतिक दलहरूको संरक्षणमा विद्यालय तथा विश्वविद्यालय सञ्चालनमा बाधा पुर्‍याउने र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताएका छन् । उनले यस्ता गतिविधिमा संलग्न शिक्षक तथा प्राध्यापकहरूलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

उनका अनुसार, सिटिइभिटी, विद्यालय र विश्वविद्यालयहरूमा भइरहेका अनेक राजनीतिक हस्तक्षेप र चलखेलका कारण उत्पन्न अस्तव्यस्तताका बारेमा विद्यार्थी तथा अभिभावकहरूबाट हजारौँ गुनासो र उजुरी आएपछि यस्तो सूचना प्रकाशित गरिएको हो । मन्त्री पुनले अनावश्यक राजनीतिक चलखेल र हस्तक्षेप पनि एक प्रकारको भ्रष्टाचार भएको भन्दै, यसबारे सर्वोच्च अदालतले जारी गरेका आदेश र विद्यमान ऐन कानुनका धाराहरूलाई समेत स्मरण गराएका छन् ।

आगामी फागुन २१ गते हुन गइरहेको चुनावको प्रचार-प्रसारमा चौबीसै घण्टा संलग्न भई विद्यालयमा पठनपाठनमा बाधा नपुर्‍याउन पनि उनले विनम्र अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =