मधेशको सरकार गठन प्रक्रियालाई न्यायालयले सच्याउनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई नेपाली कांग्रेसले ‘निन्दनीय’ भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मधेश प्रदेशमा भएको ‘अ-राजनीति’ दुःखद रहेको र यसले संघीयताप्रतिको जनविश्वासमाथि आँच पुर्‍याउने बताएका छन् । उनले यस घटनालाई ‘निन्दनीय’ भर्त्सना गरेका छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको सम्भावना हुँदाहुँदै धारा १६८(३) अनुसार एमाले नेता सरोजकुमार यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रदेश प्रमुख भण्डारीले अस्वस्थताको कारण देखाउँदै काठमाडौं जाने भन्दै निवासबाट निस्किएर महोत्तरीको बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । यस कार्यशैलीप्रति पनि कांग्रेसले प्रश्न उठाएको छ ।

महामन्त्री शर्माले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको सम्भावना छँदै धारा १६८ (३) को प्रयोग गरी नयाँ सरकार गठन गरिएकोमा कडा विरोध जनाएका छन् । उनले यसलाई ‘प्रहसन’ को संज्ञा दिँदै बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =