अबको पुस्ताको जीवन ‘गलफत्ती’ मा नजाओस् : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका प्रणेता डा. बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट पार्टीहरू निरर्थक सैद्धान्तिक र शाब्दिक विवादमा रुमल्लिँदा वर्तमान विश्व परिस्थितिको गाम्भीर्यलाई आत्मसात् गर्न नसकेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले व्यंगात्मक शैलीमा लेखेका छन्, ‘हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा गुज्रेको थियो । गुरूहरू अझै नेतृत्वमै छन् ।’ उनले यस्तै निरर्थक भाषिक विवादमा अबको पुस्ताको जीवन पनि बर्बाद हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिस्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिस्ट पार्टी) राम्रो भन्ने गलफत्तीमा जाने भो !’डा.
भट्टराईले लाखौँको सङ्ख्यामा युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, श्रम निर्यात र वस्तु आयातको परनिर्भरताको दुष्चक्र कायमै रहेको विषम परिस्थितिमा यस्ता बहसलाई श्रमिक वर्गले ‘बे’ कार नभनुन् भनी तीव्र व्यङ्ग्य गरेका छन् । उनले यस्ता निरर्थक शब्दजालमा अल्मलिनु वा अल्झाउनुको सट्टा कार्ल मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी चिन्तन पद्धति र पछिल्लो ज्ञानविज्ञानमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । डा. भट्टराईको भनाइ छ, परम्परागत विचारमा मात्रै अल्झिरहनुले समाजवादको लक्ष्य हासिल गर्न सकिँदैन ।
पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान समयमा चौथो औद्योगिक क्रान्ति (जस्तै: डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, एआई) ले विश्वमा ल्याएको परिवर्तन, नेपाल भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको अवस्था, विगत सय वर्षमा समाजवाद निर्माणका सफलता र असफलताका पाठहरू, र हालै देशमा देखिएको चमत्कारिक ‘जेन-जी’ विद्रोह लगायतका विषयमा गम्भीर र गहन विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
डा. भट्टराईले देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, सङ्गठन र कुशल नेतृत्वको विकल्प तयार गर्न ढिला भइसकेको सुझाव दिएका छन् । उनको यो भनाइले नेपालको राजनीतिक वृत्तमा विशेष गरी कम्युनिस्ट पार्टीहरूलाई आत्मसमीक्षा गर्दै समयसापेक्ष परिवर्तनका लागि घच्घच्याएको छ । नेपालको कम्युनिस्ट आन्दोलन र यसका नेताहरूको पुरानो शैलीलाई व्यङ्ग्य गर्दै भट्टराईले ‘मशाल’ र ‘मसाल’ अनि ‘नेपाल’ र ‘नेपाली’ को बहसलाई निरर्थक भनेका छन् ।








