खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान विराटनगरबाट सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ आजदेखि सुरु भएको हो ।

विराटनगर महानगरपालिकाको वडा नं १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा एक कार्यक्रमका साथ सुरु भएको सो अभियान सफल बनाउन सम्बद्ध क्षेत्रका विज्ञ तथा अधिकारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अभियानअन्तर्गत पहिलो चरणमा विराटनगर महानगरपालिकाभित्रका २१ हजार ६०० गाईभैँसीलाई खोप दिइसकेपछि क्रमशः सबै जिल्ला हुँदै कोशी प्रदेशस्थित १३७ वटै पालिकाका पशुचौपायालाई खोप दिने कार्यक्रम रहेको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा सुशीलकुमार अधिकारीले जानकारी दिए ।

इलाम जिल्लालाई यसअघि नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारीका साथ अभियान बढाइएको निर्देशक अधिकारीले जानकारी दिए ।

कोशी प्रदेश सरकारको खोरेत रोगविरुद्ध भ्यास्किन लगाउने अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै खोप कार्यक्रमलाई सफल बनाउने अभियानमा साथ दिन सम्बद्ध सबैसँग प्रदेश सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =