सरकार र शीर्ष नेताबीच देखिएको दूरीले निर्वाचनमा जटिलता : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । आगामी निर्वाचनका तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच अपेक्षित सहकार्य नदेखिएको उनको भनाई छ ।

निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भएपनि अहिले त्यस्तो वातावरण बन्न नसकेको उनले बताए । उनले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठेपनि त्यो बेला र अहिले फरक परिस्थिति रहेको बताए ।

त्यसबेला राजनीतिक दलहरूको सहमतिमा बनेको सरकार भएकाले निर्वाचन आयोग र सरकारलाई काम गर्न सहज भएको उनले स्मरण गरे । तर अहिले मुख्य दलका नेताहरू निर्वाचनको माहौल बनाउन त्यति संलग्न नभएको उनको भनाई छ ।

अध्यक्ष दाहालले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुने बताउँदै दल र सरकारले दायित्व पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘सरकार र मुख्यमुख्य दलहरुबीचको सहकार्य जसरी यो निर्वाचन गर्नको लागी हुनुपथ्र्यो, त्यो भएको स्थिति हामी पाउँदैनौँ । मुख्य दलका मुख्य नेताहरूसँग छलफल भइरहेको स्थिति हामीले अझै पनि पाउँदैनौँ । अझै नी कतै न कतै त्यहाँ एउटा खालको ग्याप छ । हुनत २०६९ मा खिलराजको नेतृत्वमा बनेको सरकार नी चुनावी सरकार अन्तरिम सरकार उसले गर्न सक्दा किन गर्न सक्दैन भन्ने कुरा एउटा थियो । तर त्यो बेला राजनीतिक दलहरूको सहमतिमा र राजनीतिक दलकै फिडव्याकमा सरकार बनेको हुनाले काम गर्न निर्वाचन आयोगलाई पनि सरकारलाई पनि सजिलो थियो । अहिले एक ढंगले भन्ने हो भने राजनीतिक दलका मुख्य नेताहरू त्यति संलग्न भएको स्थिति हामीले पाउँदैनौ । किन त्यस्तो भइरहेको छ, कि राजनीतिक दलले जान्नुपरो कि त सरकारले । तरपनि निर्वाचन भनेको राजनीतिक दलकै सहभागितामा हुने हो । राजनीतिक दल बेगरको चुनाव बहुदलिय व्यवस्थामा सम्भव नै छैन ।’

उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र जेल ब्रेक गरेर भागेका कैदीहरू पनि निर्वाचनको लागि अर्को जटिल पक्ष भएको बताए ।

सरकारले निर्वाचन गराउन उचित वातावरण निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले निर्वाचन आयोगले भने निर्वाचनको लागि ६० प्रतिशत तयारी पूरा भएको जानकारी आफूलाई दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =