साउथ अफ्रिकासँग पनि हार : नेपालको हङकङ सिक्सस यात्रा समूह चरणमै समाप्त

काठमाडौं । हङकङ सिक्सस क्रिकेट प्रतियोगितामा नेपालको यात्रा सुखद रहेन । समूह ‘ए’ का दुवै खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शनिबार बिहान भएको दोस्रो खेलमा पनि नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।
नेपालले प्रस्तुत गरेको ५९ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि ब्लेक सिम्प्सनले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ३० रन बनाए । उनले मात्र ९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । ओपनर जोरच भ्यान साल्कवेकले १७ रन तथा अबदुल्लाह बेयोमीले १६ रन जोड्दा कप्तान जोर्डन मोरिस भने खाता खोल्न सकेनन् । नेपालका बलर लोकेश बमले २ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
यसअघि, पहिले ब्याटिङ गरेको नेपाल ३.३ ओभरमै अल आउट हुँदै ५८ रनमा समेटिएको थियो । नेपालका लागि रसिद खानले सर्वाधिक १६ रन बनाए । यस्तै, लोकेश बमले १४, मोहम्मद आदिल आलमले १३, रूपेस सिंहले ७ र कप्तान सन्दीप जोराले ६ रन जोडे भने बसिर अहमद शून्य रनमै आउट भए । दक्षिण अफ्रिकाका अब्दुल्लाह बेयोमी, ब्लेक सिम्प्सन र जोरच भ्यान साल्कवेकले २/२ विकेट लिँदै नेपाली ब्याट्सम्यानलाई सस्तैमा समेटेका थिए ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । समूह ‘ए’ बाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने प्रावधान रहेको छ ।
समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई रहेका छन् भने समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान छन् । यस्तै, समूह ‘डी’ मा बंगलादेश, हङकङ र श्रीलंका रहेका छन् ।








