अधिवेशनको ढोका खोल्न राष्ट्रियसभा अध्यक्ष दाहाल सक्रिय, सिंहदरबारमा दलहरूसँग परामर्श

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको गतिरोध अन्त्य गर्न र राष्ट्रिय सभाका कार्यहरूलाई अगाडि बढाउन सक्रियता देखाएका छन् । उनले शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूसँग महत्त्वपूर्ण छलफल गरेका छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेबाट गोपालप्रसाद भट्टराई लगायतका नेताहरूको उपस्थिति थियो । छलफलको मुख्य उद्देश्य संसद अधिवेशन आह्वान गर्न र राष्ट्रिय सभाका समितिहरूको बैठक निरन्तर राख्नका लागि सरकार र राजनीतिक दलहरूसँग समन्वय गर्नु रहेको बताए ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभा अन्तर्गतका समितिहरूको बैठक निरन्तर सञ्चालन गर्ने तयारी थालेका छन् । संघीय संसद, विशेष गरी राष्ट्रिय सभामा विचाराधीन विधेयकहरूलाई अगाडि बढाउन समितिहरूको बैठक नियमित हुनुपर्ने आवश्यकता उनले औँल्याए । संविधानविद्हरूले समेत संघीय संसद प्रतिनिधि सभाको निर्वाचनमा सरकारलाई सघाउन र शान्तिपूर्ण वातावरण निर्माण गर्न निरन्तर छलफल र अनुगमन आवश्यक रहेको बताएका छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनसँगै संघीय संसदको अधिवेशन अन्त्य भएको थियो । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा भएको आगजनी र तोडफोडका कारण बैठक बस्नका लागि स्थानको समस्या देखिएको छ । यद्यपि, संसद सचिवालयले सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक राख्ने गरी तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =