जाँचबुझ आयोगलाई आइजिपी खापुङले बुझाए स्पष्टीकरण

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगलाई स्पष्टीकरण बुझाएका छन् ।
आयोगले आफ्नो कामकारबाहीमा बाधा पुगेको भन्दै बुधबार आइजिपी खापुङलाई २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो ।
स्रोतका अनुसार आइजिपी खापुङले आयोगलाई आवश्यक विवरण पठाइसकेका छन् । साथै, प्रहरी प्रधान कार्यालयले आयोगले मागेका सबै विवरण पठाइसकेको पनि स्रोतले जनाएको छ ।
‘विवरण ढिलाइ गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारिएको छ,’ स्रोतले भन्यो ।
विवरण पुगेसँगै आयोगले बिहीबारदेखि प्रहरी अधिकारीहरूको बयान लिने प्रक्रिया सुरू गरेको छ । हालसम्म एक जना अधिकृतको बयान सकिएको र अन्यका बयान क्रमशः हुने आयोगले जनाएको छ ।
जाँचबुझ आयोगले गठन भएको केही दिनमै भदौ २३ र २४ गते फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको नामावली माग्दै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । तर, २२ दिनसम्म पनि विवरण नआएपछि आयोगले पुनः पत्र पठाएको थियो ।
प्रहरीले त्यसबेला ‘आइजिपीदेखि जवानसम्म खटिएका थिए’ भन्ने सामान्य जवाफ पठाएको थियो । तर विस्तृत विवरण नआएपछि आयोगले आइतबार आइजिपी खापुङकै नाममा २४ घन्टे स्पष्टीकरण माग्ने पत्र पठाएको हो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयले उक्त विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने भएकाले समय लाग्ने जवाफ दिएको थियो ।
तर, आयोगले प्रधान कार्यालयले नै विवरण उपलब्ध गराउनुपर्ने भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले अब प्राप्त विवरण र बयानका आधारमा थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ ।








