जेनजीको मुख्य मागलाई नै सरकारले बेवास्ता गर्यो : बाबुराम भट्टराई (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताएका छन् ।
काठमाडौंमा बिहीवार आयोजित जेनजी अगुवाहरुकोसंगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले जेनजी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिए ।
जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उनको भनाई छ । उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिए ।
उनले भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गरे । उनले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताए ।
यसले गर्दा प्रमाण नष्ट हुने र दोषि उम्कने उनको दाबी छ । निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उनको भनाई छ । निर्वाचन नभएमा संविधान असफल हुने उनको भनाई छ । उनले संविधानलाई असफल बनाउन केही तत्वहरु सक्रिय भएको पनि बताए ।
दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै उनले संविधान असफल बनाउनेहरुसँग शतर्क हुँदै बेलैमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । निर्वाचनको लागि सरकारले दुई वटा काम गर्नुपर्ने उनको भनाई छ ।
उनले विदेशमा भएकाहरुलाई पनि भोट हाल्ने व्यवस्था गर्नुपर्ने र जेनजीहरुलाई मध्यनजर गरेर मतदान गर्ने उमेरलाई १६ वर्ष र उम्मेद्वार बन्न पाउने उमेरलाई १८ वर्ष कायम गर्नुपर्ने बताए ।
हाल मतदान गर्नको लागि १८ वर्ष हुनुपर्नेछ भने प्रतिनिधि सभाको सदस्य हुनको लागि २५ वर्ष र स्थानीय तहको जनप्रतिनिधि हुनको लागि २१ वर्षको हुनुपर्नेछ । उनले यसलाई घटाएर तल्लो तहमा १८ र माथिल्लोमा २१ वर्ष कायम गर्न दबाब दिन सुझाव दिए ।
उनले जेनजीहरुलाई एकजुट भएर सरकारसँग आफ्ना माग राख्न पनि सुझाव दिए । सरकारले अध्यादेशमार्फत यी मागहरु पूरा गर्नसक्ने उनको भनाई छ ।








