उच्चमा रवि र छविको सहकारी ठगी मुद्दाको सुनुवाइ, न्यायको प्रतीक्षामा रास्वपा सभापति

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा यो महत्त्वपूर्ण मुद्दाको पेसी तोकिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेपछि उनी जिल्लाको आदेशविरुद्ध भदौ ९ गते उच्च अदालत पुगेका थिए । लामिछानेले सहकारीमा अपचलन भएको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतले रिहा गर्न नमानेको थियो ।

यसअघि, सहकारी ठगीको बिगो बराबरको रकम बुझाएर थुना बाहिरै रहेर मुद्दा लड्न पाऊँ भनी लामिछानेले दिएको निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले दुवै मुद्दालाई एकसाथ राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले उक्त सामूहिक बिगोको एक चौथाइ अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । जोशीले पनि सोही बराबरको जमानत पेस गरेका थिए । तर, जिल्ला अदालतले दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएको भन्दै रिहा गर्न नमिल्ने आदेश दिएको थियो ।

हाल लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै छन् । आजको सुनुवाइले लामिछाने र जोशीको मुद्दामा नयाँ मोड लिने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =