‘पार्टीभित्र लोकप्रिय तर जनतामा अलोकप्रिय पात्र नेतृत्वमा राख्ने दलहरूको प्रवृत्ति अन्त्य गरिनुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले दलहरूको गम्भीर त्रुटिको कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दलहरू सच्चिनुको विकल्प नभएको टिप्पणी गरेका छन् ।
बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले दलहरूले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पुर्याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताए । उनले जनतामा अलोकप्रिय पात्रलाई पार्टीभित्र लोकप्रिय भएकै कारण नेतृत्वमा निरन्तरता दिन नहुनेमा जोड दिए । उनले जेन–जी पुस्ताले संवैधानिक आयोगहरूमा राजनीतिक नियुक्ति गर्न नहुने माग अघि सारेको स्मरण गर्दै सोहीअनुरूप व्यवहार गर्न जरुरी रहेको पनि बताए ।
राजनीतिक दलहरूले संविधानअनुरूप व्यवहार नगरिरहेको आरोप पनि लगाए । उनले संविधानमा लेखिएका विषयमा नभई दलहरूको व्यवहारमै समस्या रहेको पनि बताए ।
उनले भने ‘पुराना राजनीतिक दलहरूमा त्रुटि देखिएको छ । सच्चिनुपर्ने आवश्यकता देखिएको छ । मुख्यगरी दलको नेतृत्व लामो समयदेखि राज्यसत्तामा बसेर शक्तिशाली बनिरहेको छ त्यही नेतृत्वलाई निरन्तरता दिने प्रयास दलहरूले प्रयोग गरेको स्थिति छ । पार्टीमा नेतृत्व लोकप्रिय हुने जनतामा उक्त नेतृत्व अलोकप्रिय हुने पार्टीमा नेतृत्वलाई निरन्तरता दिई लोकप्रिय राखिराख्नेको लागि जनताका आवाजहरू उठाइरहनु नपर्ने हो कि ? त्यो एउटा गम्भीर प्रश्न छ । यो जेनजी आन्दोलनले नै संवैधानिक नियुक्तिहरू राजनीति ढंगले हुनु भएन भन्ने माग अघि सार्नुभयो । कुरा के हो त भन्दा संविधानअनुरूप दलहरूले व्यवहार गरिरहेका छैनन् । संविधानकै लेखिएका कुराहरू समस्या हुनभन्दा पनि व्यवहार समस्या हो । त्यसकारण दलहरूको प्रवृत्ति परिवर्तन गर्न आवश्यक छ । अझैपनि परिवर्तनको लागि लेखिने त डकुमेन्ट नै हो । ती लेखिएका कुराहरू व्यवहारमा कसरी लागु हुन्छन् रु त्यो महत्त्वपूर्ण कुरा हो ।’
उनले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न काँग्रेसले खुकुलो नीति अङ्गाल्ने पनि बताए ।








