झाँक्रीसहितका नेताहरू एमालेमा फर्कँदै, आज पत्रकार सम्मेलन

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र भने तीव्र मतभेद देखिएको छ । नेकपा माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको एउटा प्रभावशाली समूहले भने पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने घोषणा गर्ने भएको छ ।
नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको यो समूहले आज बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पूर्वमन्त्री किसान श्रेष्ठले दिएको जानकारीअनुसार, पत्रकार सम्मेलनमार्फत झाँक्रीसहितका नेताहरूले एमालेमा फर्कने औपचारिक घोषणा गर्नेछन् ।
एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए । उनीहरूले पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाउँदै एमालेसँगको एकता नै स्वाभाविक हुने तर्क गर्दै आएका थिए । आजको पत्रकार सम्मेलनले उनीहरूको लामो समयदेखिको असन्तुष्टिलाई मूर्तरूप दिनेछ ।
यसअघि, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताका लागि विभिन्न चरणमा वार्ता भए पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिले गर्दा प्रक्रियाले पूर्णता पाउन सकेको थिएन । आजै ९ कम्युनिस्ट पार्टीहरू एक भई नयाँ दल घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा आएको यो फुटले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरङ्ग ल्याउने निश्चित छ ।








