ऐतिहासिक एकताको संघारमा ९ कम्युनिस्ट पार्टी, ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा आज

काठमाडौँ । लामो समयदेखिको प्रतीक्षा र विभिन्न चरणका छलफलपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ विभिन्न कम्युनिस्ट पार्टीहरू आज एकताको बन्धनमा बाँधिँदैछन् । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष समारोहका साथ नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ को औपचारिक घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

यो एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । नवगठित पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ रहने सहमति भएको छ । हिजोमात्रै नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

यद्यपि, यो एकता प्रक्रिया सबैका लागि सहज भने देखिएको छैन । माओवादी केन्द्रभित्रैबाट नेता जनार्दन शर्मा समूहले यस एकताको विरोध गर्दै छुट्टै अभियानको घोषणा गरिसकेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायतका प्रभावशाली नेताहरू पनि यो एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

यसैबीच, नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेताहरूलाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गरेका छन् । उनले सकेसम्म धेरै नेता कार्यकर्तालाई समेटेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजको घोषणा समारोहले नेपाली राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्नेछ र नवगठित पार्टीले सामना गर्नुपर्ने चुनौतीहरू के-के हुनेछन्, त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =