जेनजी आन्दोलन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दियो प्रहरीमा जाहेरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौंमा जाहेरी दिएको छ ।
२४ भदौमा आयोगको केन्द्रीय कार्यालय टंगालमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीको माग गर्दै अख्तियारले उक्त जाहेरी दर्ता गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, मंगलबार उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दिइएको हो । जाहेरीमा आयोगको कार्यालयमा भएको कुल २४ करोड रुपैयाँको क्षतिको विवरण समावेश गरिएको छ ।
प्रदर्शनकारीहरूले अख्तियारको टंगालस्थित कार्यालयमा प्रवेश गर्दै विधि विज्ञान प्रयोगशाला कक्ष र प्रशासन महाशाखामा आगजनी गरेका थिए ।
यसबाहेक, कम्प्युटर, ल्यापटप, मोबाइललगायतका उपकरणहरू लुटपाट गरिएको र पार्किङमा राखिएका सवारी साधनसमेत जलाइएको थियो ।
अख्तियारका प्रवक्ता पौडेलका अनुसार, घटनामा २० वटा कम्प्युटर, १० वटा प्रिन्टर, ६ वटा ल्यापटप र अन्य इलेक्ट्रोनिक्स उपकरणहरूको क्षति भएको छ । यीमध्ये १० वटा इलेक्ट्रोनिक्स डिभाइस आंशिक रूपमा र १३ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
अख्तियारको टंगालस्थित कार्यालय परिसरमा रहेका सवारी साधनको पनि ठूलो क्षति भएको छ । १६ वटा चारपांग्रे र ५७ वटा दुईपांग्रे सवारीसाधनमा पूर्ण र आंशिक क्षति पुगेको बताइएको छ ।








