कस्तो छ मण्डलामा मञ्चन भइरहेको नाटक ‘मिलारेपा’ ? (तस्बिरहरू)

काठमाडौँ । केही समय अगाडि मण्डला थिएटरको फेसबुक पेजमा नाटक ‘मिलारेपा’ को चहलपहल देख्दै आएकी थिए । बिस्तारै गुम्बा, स्तूपमा राखिने रङ्गीबिरङ्गी झण्डा (तोरण)ले मण्डला सजिँदै थियो । अझ लामा गुरुहरूको बाक्लो उपस्थितिले ‘मिलारेपा’ लाई विशेष देखायो । त्यसबीच नाटक हेर्ने कौँतुहताले मलाई पछ्याई सकेको थियो ।
नभन्दै गत सोमबार कात्तिक १६ गते भएको ‘प्रेस शो’मा मैले नाटक ‘मिलारेपा’ हेर्ने मौका पाए । यस नाटकले ११औँ शताब्दीमा जन्मिएका तिब्बती बौद्ध धर्मका महान् योगी र आध्यात्मिक गुरु ‘मिलारेपा’ को प्रेरणादायी जीवनकथालाई प्रस्तुत गरेको छ ।
बाल्यकालमै बाबुको मृत्यु भएपछि ‘मिलारेपा’का परिवारले विभिन्न अन्याय, अत्याचार र समस्याको सामना गर्नुपर्दछ । जसले मिलारेपालाई क्रोध र बदला लिन उक्साउँछ । पछि कर्मको गहिरो पाप बोधले पछुताएका ‘मिलारेपा’ आफ्ना गलत कार्यहरूको पश्चात्ताप गर्दै साधना र ध्यानमा लागेको देख्न सकिन्छ ।
यस नाटकले हामीलाई पाप, पश्चात्ताप, साधना र मुक्तिजस्ता गहिरा आध्यात्मिक चेत प्रदान गरेको छ । उनका जीवनीले अधर्मको बाटो नरोजी शान्तिको पक्षमा उभिन सन्देश दिएको छ । जुन सन्देशहरू अहिले पनि उतिकै सान्दर्भिक छन् ।
नाटकमा प्रयोग गरिएको टुङ्नाका मनमोहक धुनले दर्शकलाई ‘मिलारेपा’ कै समयावधिमा यात्रा गराउँदछ । त्यसमाथि पनि कलाकारहरूको अभिनय, संवाद र पहिरनले हामीलाई त्यस यात्राबाट छुट्टी नै दिदैँन् । यसबीचमा हामीले केही हास्य, करुण र शान्त रसको पनि पान गर्न सक्छौँ ।
यसमा प्रयोग भएका ‘टिब्टेन’ शब्दहरूलाई पनि कलाकाहरुले सहजै रूपमा डेलीभर गरेका छन् । जसले नाटकलाई जीवन्त साबित गर्छ । नाटकको अर्को बलियो पक्ष हो– ‘टेक्निकल पक्ष’ । निर्देशकले टेक्नोलोजीको सफल प्रयोग गरि यसलाई अझ रियलिस्टिक बनाएका छन् । यसको बीच–बीचमा आउने साङ्गीतिक धुनहरूलाई पनि रेकर्ड गरेरै बजाइएको छ ।
जसकारण ११औँ शताब्दीमा जन्म लिएका ‘मिलारेपा’ लाई हामी सहजै मण्डला नाटकघरमा भेटेको अनुभव गर्न सक्छौँ । यसरी टेक्नोलोजीको प्रयोग गरी प्राचीन कथालाई आधुनिक दर्शकसम्म पुर्याउन निर्देशक सफल बनेका छन् ।
यसबीच नाटकलाई अझ राम्रो बनाउन सकिन्छ कि भन्ने पनि लाग्यो । नाटकको एक दृश्यमा ‘मिलारेपा’ एक गुफा भित्र तपस्या गरी बसेका हुन्छन् । त्यहाँ उनले आफूसँगै फुटेको भाँडोमा सिस्नु राखेका छन् । उक्त दृश्यमा नक्कली (सम्भवतः कागजको भाँडो) प्रयोग गरिएको छ । त्यसको सट्टा सक्कली भाँडो प्रयोग गर्दा अझ रियल देखिन्थ्यो कि भन्ने लाग्यो ।
समग्रमा भन्नुपर्दा नाटक ‘मिलारेपा’ उत्कृष्ट बनेको छ ।
मङ्गलवार (हिजो) देखि मण्डला नाटकघरमा ‘मिलारेपा’ को मञ्चन सुरु भइसकेको छ ।
जसमा कलाकार रुपेश लामाले शीर्ष भूमिका निभाएका छन् । त्यसैगरी पुस्कर कार्की, रमिला मोक्तान, विकाश लामा, सानु मार्यों तामाङ, रस्मिला तामाङ, रिया लामा बिजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, विश्व स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मङ्गगल, टसी लामा अजय लामा, पवन कुमार गोले र सबिता तामाङको पनि नाटकमा अभिनय रहेको छ ।
यस नाटकका परिकल्पनाकार तथा निर्देशक बुद्धि तामाङ र उमेश तामाङ हुन् । यसलाई रविन तामाङले नाट्य रूपान्तरण गरेका छन् । मङ्सिर २१ गतेसम्म मञ्चन हुने नाटक ‘मिलारेपा’ सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ ।
साथै शनिवार दिउँसो १ बजे पनि अतिरिक्त शो रहनेछ ।
हेर्नुहोस् तस्बिरहरू:-









