जेनजी आन्दोलनको भावना विपरित भएको एकता स्वीर्कान सकेनौँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् ।
मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताए ।
उनले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेन–जी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको उनको भनाई छ । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाए । सिमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उनको भनाई छ ।
उनले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरु भइरहेको बताए ।
जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहेको एकताप्रति सहमत नभएर आफूहरुले नयाँ अभियान सञ्चालनको थालनी गरेको उनले बताए । उनले प्रगतिशील अभियान नेपाल संचालन गर्ने जानकारी दिए ।
राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको अभियान संचालन गर्न लागिएको उनको भनाई छ ।
उनले अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने बताए । ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको त्यस्तो अभियान हामी संचालन गर्न गइरहेका छौँ’ उनले भने ।
उनले शहीद बेपत्ताहरुको सपनालाई पूरा गर्ने, उनिहरुका परिवारजनका आशा र विश्वासहरु, घाईते योद्धाहरुका अपेक्षाहरु पूरा गर्नेगरी लाग्ने प्रतिवद्धता समेत जनाए ।








