जेनजीलाई सामेल गरेर अघि बढ्न पार्टी एकीकरण अभियान सुरु गर्यौँ: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढ्न आफूहरूलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरूलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताएका हुन् ।
उनले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरूको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरूको एकीकरणको कोशेढुंगा साबित हुने दाबी समेत गरे । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट सक्तीहरूलाई आफूहरूले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गरे ।
उनले भने ‘नौ वटा पार्टीहरूले त्यसमा हस्ताक्षर गरिसकेका छन् । हामी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ शीराबाट एकीकरण र पुनर्गठनका लागि अगाडि बढ्ने निर्णय ग¥यौँ भनेर त्यो हस्ताक्षर भइसकेको छ । त्यो तपाईँहरूलाई पनि थाहा भइसकेको छ । आज हामीले यसरी नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र पुनर्गठनको यो नयाँ पहललाई अगाडि बढाउँदा ३ वटा कुरामा हाम्रो ध्यान छ । एउटा, हाम्रो एकीकरण समग्र नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक रूपान्तरण, पुनर्गठनको प्रक्रियाको कोशेढुंगाको रूपमा काम गर्नु पर्दछ । प्रस्थान विन्दुको रूपमा काम गर्नु पर्दछ । यसमा देशका भएका सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई जो जो सकारात्मक दिशातिर राष्ट्रिय स्वाधीनताको पक्षमा आउँछन्, सुशासन र समृद्धिको पक्षमा आउँछन् । जो सामाजिक न्यायसहित समृद्धि र समाजवादको आधारको पक्षमा आउँछन् । र, रणनीतिक रूपमा समाजवादको पक्षमा आउँछन् । ती सबैलाई पनि हामीले नेपालको कम्युनिष्ट र वामपन्थी आन्दोलनको एउटै केन्द्रमा सामेल गर्ने उद्देश्यका साथ अहिलेको एकीकरण त्यसको निम्ति कोशेढुंगाको रूपमा, प्रस्थान विन्दुको रूपमा हामी अगाडि बढाउन चाहन्छौ । पहिलो हाम्रो एकतालाई त्यस रूपमा बुझ्न जरुरी छ । दोस्रो हाम्रो एकता, हामी एकताको निम्ति एकता, केही मान्छे थुर्पानका निम्ति एकता गर्दैछैनौ । हाम्रो एकता हाम्रो रणनीतिक लक्ष्यलाई, हाम्रो आदर्शलाई केन्द्रबिन्दुमा राखेर विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागतता, सामूहिकता, सर्वहारा प्रगतिशील संस्कृति र जनमुखिता, वर्गमुखिता यो कुरालाई केन्द्रबिन्दुमा राखेर यसको निम्ति सिङ्गो पार्टीलाई कम्युनिष्ट आन्दोलनलाई रूपान्तरणसहित अघि बढाउनका निम्ति हामीले यो एकता गर्दैछौ । तेस्रो हामी जेनजी आन्दोलन जो भयो । जेनजी आन्दोलनको चेतनाको अभाव, जेनजी आन्दोलनको मुद्दाहरू जो हामीले पनि उठाउँदै आएका थियौँ । त्यो मुद्दाहरूलाई आत्मसात् गरेर यसमा प्रभावित पार्ने र जेनजीसहितका युवा पुस्ताहरूलाई पनि पार्टी पुनर्निर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसहित हामी नयाँ एकीकृत पार्टी पुनर्निर्माणको अगाडि बढिराखेका छौँ ।’
नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।








