आगामी आईजिपी चयनः आर्थिक समृद्धि र सुरक्षाबीचको अन्तरसम्बन्ध

काठमाडौं । नेपालले लामो समयदेखि निरन्तर राजनीतिक संक्रमणको अन्त्य खोज्दै आएको छ, तर स्थायी शान्ति र सुरक्षा अझैसम्म स्थापित हुन सकेको छैन । अस्थिर र छोटो कार्यकालका लागि बन्ने सरकार र पटक–पटक भइरहने आन्दोलनहरूले लगानीकर्ताको आत्मविश्वासमा गहिरो चोट पुर्याएका छन् ।
औद्योगिक क्षेत्रका प्रतिनिधिहरूले पनि बारम्बार औँल्याएझैं “लगानीकर्तालाई आश्वस्त पार्ने पहिलो सर्त स्थायी शान्ति र सुरक्षा हो ।” यद्यपि योजनाहरू धेरै भएपनि नीतिगत अनिश्चितताले वैदेशिक लगानी प्रवाह र दीर्घकालीन विकासमा अवरोध पुर्याइरहेको छ ।
नेपालमा प्रत्येक आर्थिक नीति सफल हुनको पूर्वसर्त नै स्थिर सुरक्षा हो। सुरक्षा कमजोर हुँदा अपराध र भ्रष्टाचार बढ्छ, अनिश्चितता फैलिन्छ र लगानी निरुत्साहित हुन्छ, जसले अन्ततः व्यापार र अर्थतन्त्रलाई सुस्त बनाइदिन्छ । यही कारणले नेपालमा आज सुरक्षालाई आर्थिक समृद्धिको अविभाज्य मेरुदण्डका रूपमा लिनु अपरिहार्य छ ।
सुरक्षा निकायमा सक्षम नेतृत्वः आर्थिक आत्मविश्वासको मेरुदण्ड
नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील देशमा सुरक्षाको प्रश्न केवल अपराध नियन्त्रणमा मात्र सीमित हुँदैन। यो आर्थिक समृद्दि, सामाजिक स्थायित्व, सीमागत निगरानी, सशक्त कानुनी कार्यान्वयन र लगानी मैत्री वातावरणसँग गहिरो रूपमा गाँसिएको हुन्छ । प्रहरीको नेतृत्व जब निष्पक्ष, सक्षम र जवाफदेही हातमा हुन्छ, तब मात्र नागरिकमा भरोसा बढ्छ र लगानीकर्तामा सुरक्षा भाव जन्मन्छ । त्यस्तो नेतृत्वको प्रभावशीलता प्रशासकीय आदेश मात्रमा होइन, दुरदृष्टि, नीतिगत स्पष्टता र जनविश्वास निर्माण गर्ने क्षमतामा निहित हुन्छ । यसैले आगामी प्रहरी महानिरीक्षकको चयन आर्थिक रणनीतिसँग सिधा रूपमा जोडिएको विषय हो ।
नेपाल प्रहरीका आगामी ३३औं महानिरीक्षक (आईजीपी) को जिम्मेवारी कसको हातमा आउने भन्ने चर्चा अहिले प्रमुख विषय हो । आईजीपी पदका दावेदारहरूमा एआईजीहरु दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाहको नाम चर्चामा छन् । राजन अधिकारी र सिद्धिविक्रम शाहसँग लामो अनुभव भए तापनि जनसंपर्क र अन्तरसंस्था समन्वयमा अपेक्षित उपलब्धि देखिँदैन । यी सबै योग्यताका बाबजुद पनि नेतृत्वको व्यापकता, निर्णयक्षमता र विवेकसहितको दृष्टिकोणको दौडमा, दानबहादुर कार्की अन्य दावेदारहरुभन्दा निकै अगाडि देखिन्छन् ।
दानबहादुर कार्कीको कार्यक्षमता र नेतृत्व गुणहरू
करिब तीन दशक लामो प्रहरी सेवामा कार्कीले निष्ठा, ईमानदारी र कार्यकुशलताको उत्कृष्ट सन्तुलन प्रदर्शन गरेका छन् । उनले काठमाडौं उपत्यका प्रहरी प्रमुख, प्रदेश प्रहरी प्रमुख र युएन शान्ति मिसनका प्रतिनिधि जस्ता जिम्मेवारीहरू सफलतापूर्वक सम्हालेका छन् ।
उनका कार्यकालहरूमा अपराध नियन्त्रण, ट्राफिक सुधार, सामुदायिक प्रहरी सेवा र नागरिक–प्रहरी सहकार्यमा उल्लेखनीय सुधार देखा प¥यो । विशेषगरी कार्कीले सुरक्षालाई “जनताको आत्मविश्वाससँग जोडिएको सेवा” का रूपमा परिभाषित गरेका छन्, जसले प्रहरी र जनता बीचको सम्बन्धलाई मजबुत बनाउने दृष्टिकोणलाई झल्काउँछ ।
उनले नेतृत्व गर्दा कुनै राजनीतिक प्रभाव वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय लिइरहेका छन् । प्रहरी संगठनभित्र यस्ता उदाहरण प्रशस्त छन् जसमा कार्कीले निष्पक्षता र व्यावसायिकताको मार्ग रोजेका छन् । वरिष्ठतामा पनि उनी शीर्षस्थ छन्, जसले वैधानिक र संस्थागत दृष्टिले उनलाई आईजीपी पदको सबैभन्दा बलियो दावेदार बनाउँछ । उनले सधैं विधि र प्रक्रियाको पालना गर्दै निर्णय लिएका छन्, जसले प्रहरी राजनीतिमा विश्वास जगाउने कार्य गरेको छ ।
बहुआयामिक क्षमता र बहुआयामिक दृष्टिकोण
अन्य दावेदारहरू आ–आफ्ना क्षेत्रमा दक्ष हुन सक्छन्, तर नेपालजस्तो संक्रमणकालीन र संवेदनशील अवस्थामा बहुआयामिक क्षमता आवश्यक पर्छ । त्यो क्षमता सबैभन्दा स्पष्ट रूपमा दानबहादुर कार्कीमा देखिन्छ। कार्कीसँग प्रशासकीय अनुभव, जनसम्पर्क कौशल, रणनीतिक सोच र अन्तर्राष्ट्रिय स्तरको ‘एक्सपोजर’ छ । यस्तो बहुआयामिक पृष्ठभूमिले उनलाई केवल नेपाल प्रहरीको मात्र प्रमुख मात्रमा सिमित नराखी, राष्ट्रको समग्र सुरक्षात्मक नीति र योजनामा दृष्टि दिन सक्ने “राज्य संयोजक” को रूपमा खडा गर्दछ ।
आर्थिक समृद्धि र सुरक्षाबीचको अन्तरसम्बन्ध
आज सुरक्षा स्थायित्व र आर्थिक समृद्धि बीचको अन्तरसम्बन्ध बुझ्ने नेतृत्व नै अत्यावश्यक छ। कार्कीले विगतमा देखाएका कार्यहरुले शान्ति र विकास सँगसँगै अघि बढ्न सक्छन् भन्ने देखिएको छ। नेपालले अहिले स्थिरता र विश्वास खोजिरहेको छ । वैदेशिक लगानी, पर्यटन, उद्योग र पूर्वाधार विकास सबैको केन्द्रविन्दु सुरक्षा नै हो ।
यस्तो अवस्थामा प्रहरी नेतृत्वमा त्यस्तो प्रतिबद्धता र समृद्धि–केंद्रित मानसिकता झल्काउने दानबहादुर कार्की जस्तै अनुभवी र इमानदार व्यक्तिको आवश्यकता छ । उनको इमानदार छवि र विवेकपूर्ण निर्णयशक्तिले नेपाल प्रहरी मात्र होइन, मुलुकको समग्र सुरक्षाका लागि अमूल्य योगदान पु¥याउँछ । यसर्थ, भविष्यको राष्ट्रिय प्राथमिकतासँग मेल खाने दृष्टिकोणका कारण कार्की भावी प्रहरी महानिरीक्षकका लागि निर्विकल्प र योग्य विकल्प हुन् ।
कानून, वरीयता र संस्थागत मर्यादा
आईजीपी नियुक्ति प्रक्रियामा वरिष्ठता, विधि र पद्धतिको पालना गर्नु अपरिहार्य हुन्छ । विगतमा प्रहरी नेतृत्व नियुक्तिमा राजनीतिक हस्तक्षेपको समस्या हुँदै आएकोमा सर्वोच्च अदालतले त्यसलाई निषेध गर्न ठोस नजिर प्रस्तुत गरेको छ । २०७३ चैत ८ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश एवम् हालकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको इजलासले जयबहादुर चन्दको आईजीपी नियुक्तिमा राजनीतिक हस्तक्षेप र वरिष्ठताको उल्लङ्घन भएको ठहर गर्दै सरकारको निर्णय बदर गरेको थियो ।
सो इजलासमा तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की (पूर्व प्रधानन्यायाधीश) लगायत पाँच जना न्यायाधीशहरू थिए । इजलासले चैत ७ गते सुनुवाइ गरी निर्णय गर्यो कि उक्त नियुक्ति राजनीतिक प्रभावरहित हुनुपर्ने कानुनी प्रक्रिया विपरीत भईरहेको छ, त्यसैले चैत ८ गते सर्वोच्चले निर्णय बदर गरेको थियो । यस फैसलाले प्रहरी नेतृत्व नियुक्तिमा वरीयता नै सर्वोच्च प्राथमिकता हुनु पर्ने महत्त्वपूर्ण सिद्धान्त कायम गर्यो ।
हाल दाबी गरिएका उम्मेदवारहरू मध्ये क्षमता, कार्यकुशलता र साहसपूर्वक कार्यसम्पादन गर्ने विशेषता कार्कीमा सबैभन्दा स्पष्ट देखिन्छ । उनी हालसम्म दागरहित रहेको प्रमाणित छ । कुनै पनि शक्तिकेन्द्रको दवाव वा राजनीतिक प्रभावले उनलाई विचलित गर्न सकेको छैन ।
जेनजी आन्दोलनमा कार्कीले देखाएको उच्च क्षमता
हालैको जेनजी आन्दोलनका क्रममा पनि कार्कीले आफ्नो प्रशासनिक कौशल प्रयोग गर्दै कहालिलाग्दो वातावरणलाई सुझबुझपुर्ण तवरले व्यवस्थापन गरे । उपत्यका प्रहरी प्रमुखको रुपमा आन्दोलनका बेला क्षति न्यूनिकरणमा उल्लेख्य भुमिका निर्वाह गरे, कार्कीले ।
सरकारविहीन अवस्थामा कार्कीले आन्दोलनरत समूह, नेपाली सेनालगायत सुरक्षा निकाय र राजनीतिक दलहरूका बीच सुझबुझपूर्ण समन्वय गराएका थिए । यसले उनको समन्वय क्षमता र संकट व्यवस्थापन क्षमताको पुनः पुष्टि गरेको छ । आन्दोलनपछि प्रहरीको मनोबल पुनः बढाउनमा पनि उनको भूमिका उल्लेखनीय रह्यो ।
उनले विगतमा देखाएका साहस, निर्भीकता र व्यावसायिकताले कठिन परिस्थितिहरूमा पनि सफलतापूर्वक निकास निकाल्ने विश्वास जगाएको छ । कुनै राजनीतिक दलको ट्याग नलागेका र शक्तिकेन्द्रको खेलमा नलाग्ने उनको छवि बेदाग छ । यही सबै गुण र योग्यताका आधारमा दानबहादुर कार्की आईजीपी नियूक्त भएको खण्डमा मुलुकमा विधिको शासन थप बलियो हुनेछ ।
दानबहादुर कार्की नै योग्य विकल्प
समग्रमा हेर्दा दानबहादुर कार्कीले शान्ति र सुरक्षाको माध्यमबाट ‘आर्थिक विश्वास’ निर्माण गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । उनमाथि कुनै अभियोग छैन र इमानदार छवि लिएर अघि बढेका छन्, जसले नेपाल प्रहरीमात्र होइन, समग्र राष्ट्रिय सुरक्षा प्रतिष्ठाका लागि पनि उनको योगदान अमूल्य छ ।
कार्कीको नियुक्तिले मुलुकमा स्थिरता र विश्वास कायम रहने संकेत दिनेछ । वर्तमान अवस्थामा राजनीति र सुरक्षा संस्थाहरूबीच समन्वय गर्दै जनविश्वास पुनस्र्थापना गर्नु उच्च प्राथमिकता हो । यही कारणले कार्कीले देखाएको बहुआयामिक नेतृत्व र दृढ निष्ठाका कारण उनी आगामी प्रहरी महानिरीक्षक पदका लागि निर्विवाद र उपयुक्त विकल्प हुन् ।








