नख्खु कारागार पुगेर रवि लामिछानेसँग आयोगले गर्‍यो सोधपुछ

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँच गर्न गठन भएको आयोगले सोमबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

आयोगको टोलीले कारागारको निरीक्षण गर्दै कैदीबन्दीहरूसँग पनि छलफल गरेको थियो । आन्दोलनकारीहरूको भीड कारागारमा पुग्दा लामिछाने बाहिर निस्किएका थिए भने उनी निस्किएपछि अन्य कैदीबन्दीहरू पनि बाहिर निस्केको आरोप लगाइएको छ ।

तर लामिछाने र उनको पार्टीले जेलर सत्यराज जोशीको पत्रको आधारमा उनी थुनामुक्त भएको दाबी गरेका थिए । आयोगले भदौ २४ मा नख्खु कारागारमा भएको घटनाबारे विस्तृत अध्ययन र सोधपुछ गरेको स्रोतले जनाएको छ ।

लामिछाने बुटबलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याएर सहकारी ठगी गरेको आरोपमा थुनामा परेका थिए । उनी भैरहवा कारागारमा रहेर केही महिनाअघि नख्खु ल्याइएको थियो ।

आयोगले सोधपुछको क्रममा लामिछानेलाई कारागारबाट बाहिर निस्कनुपरेको अवस्था, जेलरको पत्र, र कारागारबाहिर जाने प्रक्रिया लगायत विभिन्न विषयमा प्रश्न गरेको छ । आयोगले अन्य कैदीबन्दीहरूसँग समेत विस्तृत कुरा गरेको छ ।

गतसाता आयोगका पदाधिकारीहरूले उपत्यकाबाहिरका जानकारी संकलन गरी काठमाडौं फर्किएका थिए । आइतबारदेखि आयोगले विशेष रूपमा काठमाडौं घटनामा केन्द्रित भएर अनुसन्धान थालेको छ ।

आयोगले प्रहरी मुख्यालयलाई पत्र पठाउँदै भदौं २३–२४ का जिम्मेवार प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न सर्कुलर जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =