आफ्नै नेतृत्वमा राजनीतिक दल दर्ता गर्ने तयारीमा कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन् ।

लामो राजनीतिक र रणनीतिक छलफलपछि घिसिङ आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने मनसायमा पुगेका हुन् ।

मन्त्री घिसिङ निकट स्रोतका अनुसार पार्टी दर्ता गर्ने निर्णयबारे अन्तिम टुंगो आज वा भोलिसम्ममा लाग्नेछ ।

केही दिनअघिसम्म उनले पार्टी कसै अर्को व्यक्तिको नाममा दर्ता गर्ने, त्यसपछि प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व सम्हाल्ने योजना बनाइरहेका थिए । उक्त अवधिमा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको नाममा दल दर्ता गर्ने प्रस्तावसमेत आएको थियो ।

तर पछिल्ला दिनमा भएका छलफलहरू, विशेषगरी आइतबार भएको बैठकपछि घिसिङले आफैंको नेतृत्वमा अहिले नै पार्टी घोषणा गरेर अघि बढ्ने निष्कर्ष निकालेका हुन् ।

स्रोतका अनुसार पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तयारी भइरहेको छ । पार्टीको नामबारे भने अझै अन्तिम निर्णय भएको छैन । ‘उज्यालो नेपाल’ र ‘नेपाल विकास दल’ जस्ता नामहरू छलफलमा छन् ।

घिसिङले ‘उज्यालो नेपाल’ नाम र ‘बिजुलीको चिम’ चुनाव चिह्नप्रति सकारात्मक देखिएका भए पनि यसबारे अन्तिम टुंगो बाँकी रहेको स्रोतले बतायो ।

पार्टी दर्ता भएपछि घिसिङलाई अध्यक्ष बनाइने र अन्य सबैलाई तत्कालका लागि केन्द्रीय सदस्यका रूपमा समावेश गरिने योजना रहेको पनि बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =