नेकपा एमालेसँग एकता नभए चाँडै नयाँ पार्टी घोषणा गर्छौं : झलनाथ खनाल (भिडिओ)

काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एक पटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राखेका छन् । एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै उनले आलोचना गरे । एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ । माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग निकटता सम्भव रहेको उनले संकेत गरे । राष्ट्रिय संकटको निकास निर्वाचन होइन, संसद पुनःस्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन रहेको उनले भने । प्रमुख पार्टी नेतृत्व यो कार्यकालमा फेल भएको ठहर गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिए ।

एमाले फर्कने शर्तः समाजवादी क्रान्तिको प्रतिबद्धता
खनालले एमालेसँग एकताको ढोका खुला रहेको बताए । तर यसका लागि स्पष्ट वैचारिक शर्तहरू उनले राखेका छन् । उनी भन्छन्, “एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ ।”

उनले चार आधारभूत शर्तहरू प्रस्ताव गरेका छन् । जसलाई वार्ताको आधार बनाउन सकिने उनले उल्लेख गरे ।

“यी चार बुँदामा एकरूपता भयो भने हामी वार्ता सुरु गर्छौँ,” उनले जोड दिए ।

खनालले एमालेसँग एकताका लागि अगाडि सारेका शर्तहरू

  • माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नेः “यो वाम आन्दोलनको आधार हो । विचारमा मात्र होइन, व्यवहारमा पनि माक्र्सवादी बन्नुपर्छ ।”

  • समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउनेः “नेपालले पुँजीवादी जनवादी क्रान्ति पूरा गरिसकेको छ । अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्छ ।”

  • नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्नेः “माक्र्सवादको ढाँचालाई नेपाली यथार्थमा रूपान्तरण गर्नुपर्छ । यहाँको कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचनालाई ध्यानमा राखेर समाजवाद निर्माण गर्नुपर्छ ।”

  • देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्पः “यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको संघर्ष हो ।”

यी शर्तहरू वाम राजनीतिको पुराना मूल्यहरूको पुनरुत्थान जस्ता लाग्छन्, जसलाई विगत दशकमा बेवास्ता गरिएको खनालको भनाइ छ । “यी चार कुरामा एकरूपता हुनेबित्तिकै हामी वार्ता सुरु गरिहाल्छौँ । यो राजनीतिक सहमति मात्र होइन, विचारको एकरूपता हो,” उनले स्पष्ट पारे ।

एमालेप्रतिको माया र आलोचनाः सुस्थिर चिन्तनको अभाव
नेता खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानका रूपमा बताए । “एमाले सुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ,” उनले भावुक हुँदै भने । तर यो माया अन्धभक्ति होइन । उनी थप्छन्, “यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने, हामी पुनः एकताबद्ध भएर जान सक्छौँ ।”

तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पनि व्यक्त गरे । “एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौँ । तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,” उनले भने । खनालको आलोचना पार्टीको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित छ । उनी एमालेलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके सबै नेता कार्यकर्ता पार्टीमा समाहित हुन सहज बन्ने बताए ।

नयाँ पार्टीको तयारी र वाम पुनर्गठन
एमालेसँग एकता नभए पनि खनाल नयाँ बाटोमा अघि बढ्न तयार छन् । “हामी नयाँ ढङ्गले पुनर्गठित हुँदैछौँ । नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,” उनले भने । हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले थपे, “त्यसबाट नयाँ पार्टी, घोषणापत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौँ ।”

यो पुनर्गठन केवल समाजवादी पार्टीमा सीमित छैन । उनले माओवादी केन्द्रभित्र पनि पुनर्गठनको भावना देखिएको बताए । “जो अहिले माओवादीभित्र पनि विभिन्न समूहहरूको स्थिति देखापरिरहेको छ, र उनीहरू पनि पुनर्गठनको प्रयत्न गरिरहेका छन् । यदि छलफल गर्दा एकरूपता देखियो भने, उनीहरूसँग निकटता स्वाभाविक हुन्छ ।” तर यी चार आधारभूत कुरामा मेल भएन भने न व्यक्तिगत, न समूहगत एकताको अर्थ रहँदैन,” नेता खनालले स्पष्ट पारे ।

राष्ट्रिय संकट र समाधानः संवैधानिक बाटोबाट
देशको वर्तमान राजनीतिक संकटबारे नेता खनाल व्यावहारिक दृष्टिकोण राख्छन् । “मुलुकमा विद्यमान संकट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन । मुलुकलाई संवैधानिक बाटोबाट अघि बढाउनका लागि निर्वाचन नभए संसद पुनःस्थापनाको बाटो उपयुक्त हुन्छ,” उनले भने । उनले सडक आन्दोलनभन्दा संवैधानिक प्रक्रियाबाट निकास खोज्नुपर्ने बताए । “राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन गरेर राष्ट्रिय सहमति बनाएर मुलुकलाई अघि बढाउनुपर्छ ।” उनको तर्क छ ।

उनले प्रमुख पार्टीहरूका नेतृत्वलाई असफल ठह-याउँदै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताए । “मेजर पार्टीहरूका नेतृत्वले यो कार्यकाल परीक्षण गरेर हेर्दा फेल खाए । यी चार नेताभन्दा तलका नेताहरू सक्षम छन्, भिजनयुक्त छन् । उनीहरूलाई नेतृत्व दिने हो भने ती पार्टीहरू पुनः गतिशील बन्छन् ।” यसमा उनले युवा पुस्तालाई राजनीतिमा आउन आग्रह गर्दै भने, “निर्वाचनमा भाग लिनका लागि जेन–जी पुस्ताले पनि दल गठन गरेर आउनुपर्छ ।”

वैचारिक विचलनको उपचार र नेपाली समाजवाद
खनालले एमालेमा वैचारिक विचलन भएको स्वीकार गर्दै त्यसको उपचार आवश्यक रहेको बताए । “एमालेभित्र विभिन्न राजनीतिक, वैचारिक, सैद्धान्तिक, संगठनात्मक सवालमा उत्पन्न भएका गलत चिन्तन, विचार, प्रवृत्तिहरू छन् । त्यो कुरा पार्टीले सच्याउनुपर्छ,” उनले भने । उनको लागि यो आत्मसमीक्षाको विषय हो ।

उनले “नेपाली विशेषताको समाजवादी कार्यक्रम”लाई जोड दिए, जसमा राज्य नियन्त्रणभन्दा समान अवसर, उत्पादनमा न्याय र वितरणमा सामाजिक उत्तरदायित्व हुन्छ । “देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने” कुरालाई आर्थिक निर्भरताविरुद्धको संघर्षका रूपमा उनले व्याख्या गरे । खनालको दृष्टिमा, क्रान्ति संवैधानिक दायराभित्रै सम्भव छ । “वर्तमान संविधान अनुसार नै मुलुकलाई निकास दिनुको विकल्प छैन,” उनले निष्कर्ष निकाले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =