कांग्रेसमा महाधिवेशन कि विशेष महाधिवेशन ?

हस्ताक्षरकर्ता समूहको डा. शेखर कोइरालासँग भेट, नेतृत्व लिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै देशव्यापी हस्ताक्षर संकलन अभियान चलाएको एक समूहले नेता डा. शेखर कोइरालालाई भेटेर महाधिवेशनको नेतृत्व लिन आग्रह गरेको छ । भेटमा सहभागी नेता मनोजमणि आचार्यका अनुसार, उनीहरूले कोइरालासँग विशेष महाधिवेशनको वातावरण बनाउन नेतृत्व लिन आग्रह गरेका हुन् ।

सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेको ‘डेलिगेट्स’ समूहले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश नपाएको भन्दै गुनासो पनि गरेको छ । ‘हामीले उहाँलाई तपाईंलाई मतदान गरेका मतदाताहरूदेखि सबैले हस्ताक्षर गरेको विषय केन्द्रीय समिति बैठकमा किन प्रवेश पाएन, यसको नेतृत्व गरेर तपाईंले विशेष महाधिवेशनको वातावरण बनाउनुपर्‍यो भन्ने कुरा राख्यौं,’ आचार्यले भने ।

नेता कोइरालाले भने मंसिरभित्रै नियमित महाधिवेशन र विशेष महाधिवेशनमा जाने विषयमा आफूले समन्वय गरिरहेको जवाफ दिए । आचार्यका अनुसार, कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे दुई वटा प्रस्ताव नआओस् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘म पार्टीलाई एक बनाउन लागिरहेको छु । पार्टीभित्र दुई वटा प्रस्ताव नआओस्, एउटै प्रस्ताव आओस्,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चाहे विशेष महाधिवेशनभित्र रहेर नियमित महाधिवेशनको विषय या विशेष महाधिवेशनलाई लैजाने विषयमा मैले समन्वय गरिरहेको छु ।’

अर्का नेता गुरूराज घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालालाई भेट्ने योजनाअनुसार नै विशाल नगर पुगेको प्रतिक्रिया दिए । ‘हस्ताक्षरकर्ताहरूको कार्यवाहक सभापति र शेखर दाइलाई भेट्न हाम्रो योजना थियो । त्यहीअनुसार हामीले उहाँसँग भेटेका हौं,’ उनले भने ।

घिमिरेका अनुसार, भेटमा नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैं विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरे । ‘चार वर्षीय कार्यकालभित्रै नियमित महाधिवेशन, त्यसका लागि एउटै कार्यतालिका बनाउनुपर्छ भने,’ उनले भने, ‘यदि, त्यो सम्भव हुँदैन भने विशेष महाधिवेशन केन्द्रीय समितिले आफैं बोलाउने कुरा गरे ।’

कोइरालाको धारणाअनुसार केन्द्रीय कार्यसमितिले आफैं महाधिवेशन बोलाएर नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्नेछ । घिमिरेले यसबीचमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि आफूहरूलाई बोलाएर छलफल गरेको जानकारी दिए । ‘दुवै महामन्त्रीज्यूहरूले हामीलाई बोलाउनुभयो । अहिलेको डेभलपमेन्ट बताए,’ नेता घिमिरेले भने ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर पार्टी कार्यालयमा बुझाएको टोलीले शनिबार कार्यवाहक सभापति खड्कासँग पनि छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =