कतार जाँदै राष्ट्रपति पौडेल, सामाजिक विकास शिखर सम्मेलनमा नेपालको नेतृत्व गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन कतार प्रस्थान गर्दैछन् । कात्तिक १८ देखि २० गतेसम्म चल्ने यस महत्त्वपूर्ण सम्मेलनमा राष्ट्रपति पौडेलले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको विशेष निमन्त्रणामा राष्ट्रपति पौडेल यस शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसले सामाजिक विकासका क्षेत्रमा नेपालको दृष्टिकोण र प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

लगभग ३० वर्षको अन्तरालपछि संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार पुनः आयोजना हुन लागेको यो सम्मेलनले विश्वव्यापी सामाजिक विकासका एजेन्डाहरूमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । यसअघि सन् १९९५ मा पहिलो शिखर सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो ।

कतार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । यी भेटवार्ताहरूले नेपाल र मित्रराष्ट्रहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सामाजिक विकासका साझा चुनौती र अवसरहरूमा सहकार्यका नयाँ आयामहरू पहिल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सामाजिक विकासका विविध पक्षमा केन्द्रित यो सम्मेलनले विश्वका देशहरूबीच सहकार्य र साझा प्रतिबद्धतालाई थप बलियो बनाउने लक्ष्य राखेको छ । राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =