नाटक ‘मिलारेपा’ को प्रिमियर शो सम्पन्न, कार्तिक १८ देखि मञ्चन
उनको जीवनकथा मार्फत नाटकले पापकर्मका परिणाम, पश्चात्ताप र रूपान्तरणका गहिरा भावनात्मक पक्षहरूलाई उजागर गरेको छ ।

काठमाडौँ । नाटक ‘मिलारेपा’ को प्रिमियर शो सम्पन्न भएको छ ।
सोमबार (आज) दिउँसो थापागाउँस्थित मण्डला नाटकघरमा उक्त नाटकको प्रिमियर शो सम्पन्न भएको हो ।
‘मिलारेपा’ ११औँ शताब्दीमा जन्मिएका तिब्बती बौद्ध धर्मका महान् योगी र आध्यात्मिक गुरु हुन् । उनकै जीवनकथामा आधारित यस नाटकले पापबाट पश्चात्ताप हुँदै ज्ञान प्राप्तिसम्मको आध्यात्मिक यात्रालाई नाटकीय ढङ्गमा प्रस्तुत गरेको छ ।

आफ्नो कर्मको गहिरो पापबोधले पछुताएका ‘मिलारेपा’ पश्चतापका लागि आध्यात्मिक मार्ग रोज्छन् ।
त्यसबीच आफ्ना गल्तीहरूको आत्मसमीक्षा, कठोर तपस्या र साधनाद्वारा मिलारेपाले ज्ञान प्राप्त गर्छन् । उनको जीवनकथा मार्फत नाटकले पापकर्मका परिणाम, पश्चात्ताप र रूपान्तरणका गहिरा भावनात्मक पक्षहरूलाई उजागर गरेको छ ।
कार्तिक १८ गतेदेखि मञ्चन हुने यस नाटकका परिकल्पनाकार तथा निर्देशक बुद्धि तामाङ र उमेश तामाङ हुन् । यसलाई रविन तामाङले नाट्य रूपान्तरण गरेका छन् । मङ्सिर २१ गतेसम्म मञ्चन हुने नाटक ‘मिलारेपा’ सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ ।
साथै शनिवार दिउँसो १ बजे पनि अतिरिक्त शो रहनेछ ।









