बञ्चरेडाँडा पुगेका मन्त्री घिसिङले दिए स्थानीयका माग सम्बोधन गर्न निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर संकट चुलिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन् । उपत्यकाका सडकहरू फोहोरले दुर्गन्धित बन्दै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडाको अनुगमन गरेका हुन् ।
काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सीमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलका रूपमा विकास गरिएको थियो । तर विगतका वर्षहरूमा यस साइटसँग जोडिएका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन । मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिए ।
स्थानीयहरूले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानहरूमा पर्ने असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् । २०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू नै बाटोमै रोकिएका थिए । जसले उपत्यकामा फोहोर थुप्रिने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहोरिएको छ । २०८० मा भएको एक अध्ययनले बञ्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीको प्रदूषण बढेको देखाएको थियो । जसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुर्याएको छ ।
स्थानीयहरूले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटकपटक विरोध प्रदर्शन गरेका छन् । असोज २०८२ मा भएको छलफलमा पनि सहमति जुट्न सकेन । जसले गर्दा फोहोर विसर्जनमा अवरोध सिर्जना भएको छ । यी समस्याहरूले गर्दा उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयहरूले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयहरूसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिए ।








