एमालेको महाधिवेशन स्थल परिवर्तन: मंसिर ६ मा काठमाडौँमा जनसभा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ ।
शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औँ राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर आजको बैठकले स्थान परिवर्तन गरेर काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताए । प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिवार देशभर एकसाथ हुने बताए । प्रतिनिधिहरूको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने बताए ।
प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानिएको बताए । एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला, एक जना ४० वर्ष मुनिका युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ४ जना निर्वाचित हुने बताए ।
त्यसबाहेक हरेक ८ सय सदस्य संख्या थपिँदै जाँदा थप एक जना प्रतिनिधि चुनिने र त्यसमध्ये महिला अनिवार्य हुने बताए । प्रतिनिधिमा न्यूनतम एक तिहाई महिला सहभागिता गराउने दाबी गरे । दलित पार्टी सदस्यहरूको हकमा उनीहरूका लागि जिल्ला निर्वाचनको इकाई हुने र हरेक पाँच सय दलित प्रतिनिधिमध्येबाट एक जना प्रतिनिधि निर्वाचित हुने बताए ।
आरक्षित क्षेत्रबाट ९ट्रेड युनियन० मा प्रदेशलाई इकाई मानिएको र प्रदेशमा रहेका ट्रेड युनियनका पार्टीमा कार्यरत पार्टी सदस्यहरूमध्येबाट दुई जना महिला र पाँच जना खुला गरेर सात जना हरेक प्रदेशबाट निर्वाचित हुने बताए । २३ वटा पार्टीका जनसंगठनबाट दुई जना महिला र तीन जना अनिवार्य हुने बताए ।
महासंघीय ढाँचाका ६ वटा जनसंगठनबाट थप ७ जना प्रतिनिधि रहने बताए । पार्टीका ३२ वटा विभागहरूबाट हरेक विभागबाट एक जना र केन्द्रीय कार्यालयबाट एक जना चयन हुने बताए । पार्टीका प्रदेश कमिटीबाट तीन जना खुला र दुई जना महिला गरी पाँच जना निर्वाचित हुने र प्रवासमा रहेका ६ वटा महादेशस्तरका संगठनबाट हरेकबाट पाँच जनाका दरले निर्वाचित हुने बताए ।
९ सय ७० तल्लो सङ्गठनहरूबाट, विशेष जिल्लाहरूबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र कार्यालयबाट ३३, जनसंगठनबाट १२७ गरी करिब २ हजार १ सय सदस्य हुने बताए । पदेनमा केन्द्रीय कमिटीबाट ३ सय ५४ जना, अनुशासनबाट २९, लेखाबाट ३०, निर्वाचनबाट २५ जना, सल्लाहकारबाट २५ जना गरी ४ सय ६४ जना पदेन प्रतिनिधि रहने बताए ।
संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन गर्ने योजनाअनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा गर्ने र काठमाडौँमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको बताए ।
विधान महाधिवेशनबाट आएका सुझावहरूलाई परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रूप दिने निर्णय भएको बताए ।








