एमालेले बोलायो सचिवालय बैठक

काठमाडाैं । आजसन्न ११ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिन नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने बैठकले महाधिवेशनका विभिन्न पक्षमा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन एमाले जुटेको छ । आजको सचिवालय बैठकमा महाधिवेशनको प्रारम्भिक तयारीबारे रिपोर्टिङ हुनेछ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थिति र तयारीका बारेमा बैठकमा जानकारी गराउने कार्यक्रम छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्ने सम्भावना छ ।
पार्टी पदाधिकारीका अनुसार, बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधि संख्या, प्रतिनिधि छनोटको आधार लगायतका महत्वपूर्ण विषयमा गहन छलफल हुने । यी निर्णयहरूले महाधिवेशनको स्वरूप निर्धारण गर्न निर्णायक भूमिका खेल्नेछन् ।
महाधिवेशनको तयारीसँगै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारले फागुन २१ गते गर्ने भनिएको निर्वाचनका विषयमा पनि छलफल हुनेछ । एमालेले राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दाहरूमा आफ्नो धारणा तय गर्नका लागि पनि यस बैठकलाई उपयोग गर्ने देखिन्छ ।








