जेनजी आन्दोलनका शहीद परिवारको माग- रोजगारी, निःशुल्क शिक्षा र उपचार सुनिश्चित गरियोस्

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले सरकारसँग रोजगारी, निः शुल्क शिक्षा र उपचारको माग गरेका छन् ।
शुक्रवार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर जेन—जी परिवारका सदस्यहरूले यस्तो माग राखेका हुन् ।
जेन—जी आन्दोलनका शहीदहरूको तस्बिर राजपत्रमा प्रकाशन गर्नुपर्ने पनि उनीहरूको माग छ । गृहमन्त्रीसँगको भेटपछि एकजना शहीदका आफन्तले शहीदका परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्य तथा रोजगारी उपलब्ध गराउनुपर्ने बताए । शहीदहरूको शालिक निर्माण गर्नुपर्ने पनि उनको माग छ ।
उनले भने ‘अब हामी शहीद परिवारको माग के छ भने रोजगारी, शिक्षा, स्वास्थ्यको प्रबन्ध गरियोस् । सरकारसँग हामीले यही माग गरिरहेका छौँ । आश्वासन त सरकारको तर्फबाट सबैले राम्रै दिइरहनुभएको छ । तर हुने कहिले हो रु जेनजी आन्दोलनका शहीदहरूको नाम राजपत्रमा निकाल्नुपर्यो । शहीदहरूको सालिकहरू निर्माण गर्नुपर्यो ।’
उनीहरूले सरकारले जेनजीका मागअनुसार भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि बताए । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका थिए भने २ हजार ३१६ जना घाइते भएका थिए ।








