माओवादी केन्द्रसँगको पार्टी एकता अभियुक्तहरूको एकता हो: दामोदर अर्याल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरूको एकता मात्रै हुने बताएका छन् ।

सञ्चारकर्मीहरूसँग पार्टी केन्द्रीय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले यस्तो बताइएका हुन् ।

उनले जेन जी मुभमेण्टले सबै पार्टीको गठन, पुनः गठन, ध्रुवीकरण गर, पुराना नेताहरू भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश दिएको तर माओवादीसँगको एकताले त्यो पुष्टि हुन नसक्ने धारणा राखे ।

उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल सम्पत्ति शुद्धीकरणको निगरानीमा रहेको र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा कारागारमा रहेको र अन्य नेताहरूसमेत सुन तस्करीसँग जोडिएको भन्दै माओवादीसँगको पार्टी एकता अभियुक्तहरूको एकता हुने जिकिर गरे ।

अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरूको एकताले जनतामा आशा र विश्वास जगाउन नसक्ने उनको भनाइ छ । बदनाम भएका पात्रहरू बाहिर राखेर समाजले पचाउने खालका इमानदार नेताहरूको नेतृत्वमा पार्टी पुनः गठन अहिलेको आवश्यकता रहेको बताए ।

अभियुक्तहरूको एकता नभई वामपन्थीहरूको एकता जरुरी रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी युवाहरूको हत्याको आरोपमा अर्धभूमिगत रहेको आरोप लगाउँदै छानबिन आयोगमा गई बयान दिने र राजनीतिक अवकाश लिनुपर्ने बताए ।

उनले भने ‘जेन जी मुभमेण्टले सबै पार्टीको गठन, पुनः गठन, ध्रुवीकरण गर, पुराना नेताहरू भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश छ । यसबारेमा नै हामीले छलफल गरेका छौँ । अहिले के छ भने प्रचण्डजी सम्पत्ति शुद्धीकरणको निगरानीमा हुनुहुन्छ । त्यो पार्टीको उपाध्यक्ष एक जना महराजी सुन तस्करी काण्डमा जेलमा हुनुहुन्छ । त्यो भन्दा बाहेक अरू नेताहरू पनि सुन तस्करी, विभिन्न भ्रष्टाचारका मुद्दामा लागिरहेकै छन् । हाम्रै पार्टीका अध्यक्षलाई पतञ्जलि काण्डमा भ्रष्टाचारको मुद्दामा आरोपित नै हुनुहुन्छ । त्यसकारण प्रचण्ड र माधव नेपालसहितको एकता भनेर र यो अभियुक्तहरूको एकता हुन्छ, सबै अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरूको एकताले जनतामा आशा र विश्वास जगाउँदैन । सारा बदनाम भएका पात्रहरू बाहिर राखेर समाजले पचाउने खालका इमानदार नेताहरूको नेतृत्वमा पार्टी पुनः गठन हुनुपर्छ । अभियुक्तहरूको एकता नभई वामपन्थीहरूको एकता गर्नुपर्छ । ७८ जना युवाको हत्याको आरोपमा अर्धभूमिगत रूपमा गुण्डुमा हुनुहुन्छ, ओली जी । उहाँलाई अधिकार नै छैन । उहाँ छानबिन आयोगमा जाने, बयान दिने र राजनीतिक अवकाशमा जाने बाहेकका विकल्प छैन ।’

उनले वाम पार्टीहरूको एकता नभई वामपन्थीहरूको एकता जरुरी रहेको बताए । आफूहरू शीर्षस्थ नेता बाहेकको पार्टी एकताको पक्षमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =