माओवादीसँग पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ, ओलीले एकता भाँड्न घर फर्किनुस् भने: जगन्नाथ खतिवडा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन् ।

शुक्रवार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको बताए ।

उनले बैठकमा सम्मानित नेता खनालले एकता नगरौँ भन्ने सुझाव दिएको भएपनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने दाबी गरे । माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा मार्क्सवाद लेनिनवादलाई आफूहरूले पनि मान्ने गरेको बताए ।

आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानै घर फर्किनुस् भन्ने आह्वान पार्टी एकता भाँड्नका लागि भएको जिकिर गरे ।

उनले भने ‘नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल यी तीन दलहरू एकीकरण गर्नका निम्ति पूर्ण विश्वासका साथ काम गरिरहेका छौँ । एकता हुन्छ । बैठकमा सम्मानित नेता खनालले राख्नुभएको सुझाव हो, एकता नगरौँ । गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो । बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो । निर्णय एकताको पक्षमा हुन्छ । र एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ । माओवाद उसले छोड्ने भयो, माओवादीलाई मार्गदर्शक सिद्धान्तका रुमपा मार्क्सवाद लेनिनवादलाई मान्छ । हामी पनि त्यसलाई मान्छौँ । धेरै कुराहरू हामीले छलफल गरेर डकुमेन्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ । केपी ओलीको आह्वान यो साजिस हो । हाम्रो एकता भाँड्न प्रयास गरेको मात्रै हो । उहाँ एकताको लागि कहिल्यै हुनुहुन्न ।’

एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =