कांग्रेसभित्रको गतिरोध अन्त्यका लागि छलफलमा डा. शेखर पक्षधर, दिउँसो केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टीभित्र घनिभूत छलफल सुरु भएको छ । यसै सन्दर्भमा, नेता डा. शेखर कोइरालाले आज बिहान आफू निकट पदाधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गरेको छ ।
कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको यस छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, साथै सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेको उपस्थिति रहेको थियो । बैठकले पार्टीको आगामी दिशा र गतिरोध अन्त्यका उपायबारे गहन विचारविमर्श गरेको बुझिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ । यो बैठक असोज २८ गतेको केन्द्रीय समिति बैठककै निरन्तरता हो ।
सभापति शेरबहादुर देउवा हाल थप उपचारका लागि सिंगापुरमा रहेकाले उनको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
पार्टीभित्रको आन्तरिक किचलो र उपनिर्वाचनको मुखमा देखिएको यो गतिरोधले पार्टीको समग्र चुनावी रणनीति र संगठनमा समेत असर पार्न सक्ने भन्दै कार्यकर्ता तहमा चिन्ता व्यक्त भइरहेको छ । आजको केन्द्रीय समिति बैठकले यी तमाम विषयहरूलाई कसरी सम्बोधन गर्छ र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने मार्गचित्र तय गर्छ भन्नेमा सबैको चासो रहेको छ ।








