वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

ललितपुर । पाटन सङ्ग्रहालयको २८औँ वार्षिकोत्सवका अवसरमा ९३ वर्षीय वरिष्ठ मूर्तिकार क्रोधकला शीरोमणि कालु कुमाले (कुम्हाः) सम्मानित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा क्रियाशील रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याएबापत उनलाई सम्मान गरिएको हो ।

वरिष्ठ मूर्तिकार कुम्हाःले ८१ वर्षको उमेरदेखि तीन वर्ष लगाएर निर्माण गरेको मूर्ति पाटन सङ्ग्रहालयमा प्रदर्शित छ ।

उनले निर्माण गरेको मूर्तिकला विश्वका ५५ वटाभन्दा बढी राष्ट्रहरूमा पुगेको र नेपालका विभिन्न सङ्ग्रहालय र मठमन्दिरमा उहाँको कला प्रदर्शित रहेको उहाँका छोरा राकेश अवालेले जानकारी गराए ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पाटन सङ्ग्रहालय विकास समितिका अध्यक्ष हरिप्रसाद मैनालीले सम्पदा संरक्षणमा स्थानीय कलाप्रेमी र संस्कृतिप्रेमीले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिए ।

‘स्थानीय प्रशासन र महानगरले सम्पदा संरक्षणमा उत्कृष्ट काम गरेको छ, सम्पदालाई पुस्तान्तर गर्दै जाँदा देशको समृद्धिको आधार बन्दै जान्छ, विभिन्न देशले सम्पदाबाटै आयआर्जन गरिरहेका छन्, हामीले मन्त्रालयबाटै पनि मूर्तिकला क्षेत्रमा काम गर्नेहरूलाई प्रेरित गरिरहने छौँ’, उनले भने ।

सचिव मैनालीले लुकेका प्रतिभा धेरै भएकाले चिन्न र सम्मान गर्न समय लागेको बताउँदै सम्पदा र संस्कृतिलाई माया गर्ने सबैले किताबको प्रकाशन र यसलाई प्रचारप्रसार गर्ने कार्यमा ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सुरेश सुरज श्रेष्ठले युवापुस्तालाई संस्कृतिका बारेमा जानकारी दिँदै संस्कृति र सम्पदाका विविध विषयसमेतको उजागर गरेर सङ्ग्रहालयलाई समेट्ने र व्यवस्थित बनाउनुपर्छ भने ।

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानले पाटन दरबार सङ्ग्रहालयलाई दीर्घकालीन समयसम्म संरक्षण गर्दै जानका लागि व्यवस्थित र प्रदर्शनीका माध्यमबाट समयसापेक्ष रूपमा लैजान स्थानीय सङ्घसंस्था र तीनै तहको सरकार एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले सम्पदा स्थानीय संस्कृतिको प्रतिविम्बित हुने स्थान भएको भन्दै सङ्ग्रहालयसँग सम्बन्धित सामग्रीको सङ्कलन, प्रदर्शनी, सुरक्षा गर्ने कार्य, सूचना प्रवाह गर्ने, अध्ययन अनुसन्धानका काम व्यवस्थित गर्नेलगायत काम गरेर राजस्व सङ्कलन गर्ने काम गरिरहेको पाटन दरबार सङ्ग्रहालयले उत्कृष्ट काम गरिरहेको बताए ।

क्रोधकला शिरोमणि कालु कुमाले फाउन्डेसनका अध्यक्ष राकेश अवालेले धेरै कलाप्रतिको लगाव र निरन्तरतालाई सम्मान गरेर श्रम र पहिचानको सम्मान गरेको बताए ।

‘कलाकारको जन्मथलो पाटनमा मूर्तिकलाको विकासलाई क्रोधकला शिरोमणि कालु कुमालले ९३ वर्षसम्म पनि निरन्तरता दिइरहनुभएको छ, मूर्तिहरूमा जीवनको दर्शन र कला उतारिएको हुन्छ, आजको सम्मानले कलाकृतिहरूप्रतिको सृजनालाई सम्मान भएको’, उनले भने ।

ऊर्जा योजनाकार एवं सामाजिक उद्यमी इञ्जिनियर अनिल चित्रकारले पाटनको सुन्दरीचोक सम्पदाको महत्त्वपूर्ण पक्ष भएको भन्दै यसको ऐतिहासिक पक्षकाबारेमा किताबमा दस्तावेजीकरण गरिएको बताए ।

‘सम्पदा केवल काठ, माटो र आँखीझ्याल मात्रै हैन, त्यसको महत्त्व बेग्लै हुन्छ, हाम्रो सम्पदाका बारेमा हामीले इतिहास कायम गर्नुपर्छ, हाम्रो भाषाप्रति गर्व गर्न सक्नुपर्छ, हामीसँग भएको कुरा र देशमा भएको अवसरका बारेमा गर्व गर्नुपर्छ’, उनले भने ।

पाटन दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले सङ्ग्रहालयले नियमित सेवाका साथै उत्कृष्ट नव प्रवर्तनीय कार्यसमेत गर्दै आएको बताए । उनले सङ्ग्रहालयको विकास, स्तरोन्नतिका साथसाथै सङ्ग्रहालयलाई समयसापेक्ष बहुपक्षीय रूपमा उपयोगी र प्रभावकारी बनाउँदै लैजाने गरी योजना भइरहेको जानकारी गराए ।

पाटन दरबार सङ्ग्रहालय मल्लकालीन, शाहकालीन र राणाकालीन सम्पदाको विशिष्टताले गर्दा सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सफल भएको छ । कार्यक्रममा विसं २०५४ देखि निरन्तर रूपमा पाटन सङ्ग्रहालयमा कार्यरत चिरीमैचा महर्जनलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =