कुमारी बैंकद्वारा निवर्तमान जीवित देवी तृष्णालाई वृहत् शैक्षिक छात्रवृत्ति प्रदान

काठमाडौं । नेपाली संस्कृति र परम्पराको संरक्षणमा सधैँ अग्रणी भूमिका खेल्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निवर्तमान जीवित देवी तृष्णा शाक्यलाई वृहत् शैक्षिक छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ । एक विशेष समारोहका बीच बैंकले शाक्यको उच्च शिक्षाका लागि कोषमा जम्मा भएको कुल ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा प्रदान गरेको हो ।
बैंकले बसन्तपुरकी जीवित देवीको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ उनको कार्यकाल सुरु भएदेखि नै हरेक वर्ष १ लाख रुपैयाँका दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको थियो । यो कोष कुमारीको कार्यकाल समाप्त भएपछि उनको आगामी शैक्षिक यात्रालाई सहज बनाउन स्थापना गरिएको थियो ।
कुमारी बैंक, जसले विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा अतुलनीय सेवा प्रदान गर्दै आएको छ, देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र ३१७ एटीएममार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक तथा भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, उद्यमशीलता विकास र वातावरण संरक्षणजस्ता महत्त्वपूर्ण क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।








