प्रचण्ड-माधव दुवैले नेतृत्व त्यागे मात्र पार्टी एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीचको सम्भावित पार्टी एकताको तयारी तीव्र भइरहेका बेला एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालले नेतृत्व परित्याग गर्नुपर्ने अडान राखेका छन् । शीर्ष नेतृत्वले बाटो नछोडेसम्म एकता प्रक्रियाले सार्थकता पाउन नसक्ने उनको तर्क छ ।
भूसालको भनाइले पार्टीभित्र तरंग पैदा गरेको छ । उनले एकता सार्थक बनाउनका लागि वर्तमान नेतृत्वको बहिर्गमन आवश्यक रहेको बताएका छन् । महासचिव भूसालले यस विषयमा एकीकृत समाजवादीका केही नेता, माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा (एमाले) का केही असन्तुष्ट नेताहरूसँग पनि छलफल गरेका छन् । उनीहरूले बुधबारदेखि बस्ने एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा यस विषयलाई प्रमुखताका साथ उठाउने तयारी गरेका छन् । यदि प्रचण्ड र माधव नेपालको बहिर्गमनको स्पष्ट खाका प्रस्तुत नभए एकता प्रक्रियामा सहभागी नहुने उनीहरूको अडान छ ।
भूसालले भनेका छन्, ‘आफ्नो पार्टीमा शुद्धीकरण गरेर पुनर्गठन भएपछि मात्र एकता गर्नुपर्छ । आजको माओवादी र हाम्रो नेतृत्वले गर्ने एकताले कार्यकर्तालाई उत्साह दिँदैन, जेनजी आन्दोलनको भावनाको सम्बोधन हुँदैन र रूपान्तरणको कुरा पनि हुँदैन भने त्यो एकतामा गइरहनुको अर्थ छैन ।’
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि कात्तिक १४ गतेसम्म बस्दैछ । यस बैठकले माओवादीसँगको एकताका बारेमा औपचारिक निर्णय गर्ने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । यता, एकता वार्तामा रहेका नेताहरूका अनुसार एकतापछिको पार्टीमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक हुने लगभग निश्चित भइसकेको छ । यद्यपि, पार्टीको नामका विषयमा भने अझै छलफल जारी छ । माओवादीका केही नेताहरू ‘माओवादी’ नाम नछाड्न प्रचण्डमाथि दबाब दिइरहेका छन् भने एकीकृत समाजवादीका नेताहरू उक्त नाम स्वीकार्न तयार छैनन् ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसमेत एकता प्रक्रियाप्रति पूर्ण रूपमा सन्तुष्ट नदेखिएको बताइएको छ । यसैबीच, महिन्द्र यादव नेतृत्वको समूह पनि एकता प्रक्रियामा सामेल हुने तयारीमा रहेको छ ।
दुई दलले आगामी १६ गतेभित्र एकता प्रक्रिया टुंग्याउने प्रयास गरिरहेका छन् । यसै क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि एकतामा सामेल गराउने प्रयास भए पनि विप्लवको पार्टी निर्वाचन आयोगमा छुट्टै दर्ता प्रक्रियामा रहेकाले तत्कालका लागि त्यो सम्भव देखिएको छैन ।
यसैबीच, पार्टी एकताको विपक्षमा रहेका एकीकृत समाजवादी, माओवादी, एमालेका असन्तुष्ट नेताहरू र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको समूहबीच छुट्टै वैकल्पिक पार्टी निर्माणको चर्चा पनि चलेको छ । भूसाल निकट एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, विप्लव, विश्वभक्त दुलाल आहुति र एमालेका केही नेताहरूसँग यस विषयमा छलफल भइरहेको छ ।
यद्यपि, यो छलफलले ठोस आकार लिइनसकेको र नारायणकाजी तथा जनार्दनहरू माओवादीबाट निस्किन सक्छन् वा सक्दैनन् भन्ने विषयमा निष्कर्षमा पुगि नसकेको उनले बताए । यसले नेपाली वाम राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावनालाई समेत इंगित गरेको छ ।








