एकीकृत समाजवादीलाई बस स्टप नबनाऔं, एमालेमा फर्कौं : प्रदीप ज्ञवाली

धरान । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताहरूलाई आफ्नो मूल घर नेकपा एमालेमा फर्कन आह्वान गरेका छन् ।
एमाले जनसंगठन संयन्त्र, कोशी प्रदेशको आयोजनामा सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले एकीकृत समाजवादीलाई “बस स्टप” जस्तो बनाएर माओवादी केन्द्रमा विलय गराउने सुनियोजित प्रयास भइरहेको आरोप लगाए । ज्ञवालीले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको चर्चा चलिरहेका बेला यसलाई प्रतीकात्मक रूपमा ‘बस स्टप’ को संज्ञा दिएर व्यंग्य गरेका हुन् ।
उनले भने, ‘एकीकृत समाजवादीलाई एउटा गन्तव्यविहीन बस स्टपका रूपमा प्रयोग गरी माओवादीमा मिसाउने दुराशयपूर्ण प्रयत्न भइरहेको छ । यस्तो अवस्थामा एकीकृत समाजवादीमा रहनुभएका इमान्दार नेता कार्यकर्ताहरूले आफ्नो भविष्य र सिद्धान्तको रक्षाका लागि एमालेमा फर्कनु नै उचित हुन्छ ।’
नेता ज्ञवालीले वर्तमान अवस्थामा राष्ट्रहित र संवैधानिक व्यवस्थामाथि गम्भीर खतरा मडारिएको दाबी पनि गरे। उनले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन विभिन्न षड्यन्त्रहरू भइरहेको भन्दै सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । ‘देशको लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा राष्ट्रिय शक्ति एमालेले मात्र देश र जनताको हितको रक्षा गर्न सक्छ ।’








