पौभा चित्रकला प्रदर्शनी: ७० हजारदेखि १० लाखसम्मका पेन्टिङ

काठमाडौँ । काठमाडौँमा परम्परागत पौभा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

यो प्रदर्शनीमा ७० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने चित्रकला राखिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी भइरहेको पौभा चित्रकला प्रदर्शनीमा नयाँ तथा पुराना पुस्ताका उक्त मूल्य बराबरको चित्रकला प्रदर्शनीमा राखिएको हो ।

पौभा चित्रकार रजनी सिंखवाले पौभा ‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा प्रदर्शनी गरिएको जानकारी दिइन् । उनकाअनुसार प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पौभा चित्रकला परम्परागत मौलिक नेपाली चित्रकला भएको उनले बताइन् ।

पौभा चित्रकला हजारौँ वर्ष पहिलादेखि चलिआएको शैलीगत आर्ट भएको उनको भनाई छ । पौभा चित्रकलामा हिन्दु र बौद्ध धर्म भगवान्हरूको चित्र बनाइने उनले जानकारी दिइन् ।

उनले पौभा चित्रकलाको लागि धेरै मेहनत र समय खर्च हुने भएकोले यसको मूल्य पनि बढी हुने बताइन् । बजारमा पाइने अन्य आर्टको तुलनामा पौभा आर्ट मंहगो हुने उनको भनाई छ । सामान्य पौभा चित्रकला बनाउन पनि कम्तीका एक महिना लाग्ने उनले बताइन् ।

उनले भनिन् ‘पौभा आर्ट चाहिँ नर्मली आर्टहरू कस्तो हुन्छ भने मूल्य आर्टिस्टले आफ्नो क्रिएशन, आफ्नो क्रियटिभिटीलाई ध्यानमा राखेर मूल्य गरिन्छ तर हाम्रो पौभा पेन्टिङ एकदमै मेहनत नै धेरै हुन्छ, समय धेरै हुन्छ, लगानी धेरै हुन्छ । त्यहीअनुसार समग्रमा मूल्य पनि जुन समय धेरै गएको छ नि मूल्य पनि त्यहीअनुसार आर्टिस्टको अलिकति अरू हामीले मार्केटमा देख्ने पेन्टिङ भन्दा अलिकति बढी नै भएको पाइन्छ । यो प्रदर्शनीमा तपाईँहरूले ७० हजार देखीको आर्ट सुरु भएर ८/१० लाखको पेन्टिङ पनि देख्न सक्नुहुनेछ ।’

उनले प्रदर्शनीमा रहेका ३८ वटामध्ये ४ वटा चित्रकला विक्री भएको जानकारी दिइन् । उनकाअनुसार प्रदर्शनीमा स्वर्गीय ग्याकंर बज्राचार्यको एकदमै पुरानो आर्ट रहेको छ । साथै ७० वर्षमाथिका सूर्यबहादुर चित्रकार, अजय कर्माचार्य, बलराम निष्ठू, चन्द्रकृष्ण किजू, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा निःशुल्क सहभागी भएर अवलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =