जेनजी आन्दोलनपछि क्षतिग्रस्त तीन ठूला कम्युनिस्ट पार्टीका कार्यालय कसरी पुनः सञ्चालनमा आए ?

काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले नेपाली राजनीतिको केन्द्रमा ठूलो हलचल ल्यायो । यस आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको मुख्य निशानामा परे । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कार्यालयहरूमा तोडफोड तथा आगजनी गरियो । आगजनीमा पार्टीका महत्वपूर्ण कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । भवनहरू जीर्ण बने । अहिले राजनीतिक दलहरू क्षतिग्रस्त कार्यालयहरूको सरसफाइ गरी नियमित काममा फर्किएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले त पुनर्निर्माणको काम समेत थालिसकेका छन् ।
दलहरूले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्यांकन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यालय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।
नेकपा एमाले : १० करोडको क्षति, प्रवासी नेपालीबाट सहयोगको प्रतिबद्धता
नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार पार्टी कार्यालयमा रहेका सबै भौतिक सामान र पार्टीका दस्तावेज आगोले नष्ट भएका छन् । उनले करिब १० करोड बराबरको सामग्री र भवनको क्षति भएको बताए । उनले कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर तथा अन्य सामग्री खरिदका लागि प्रवासमा रहेका पार्टीका सदस्यहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । उनले हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन गरिरहेको बताए ।
भवन पुनर्निर्माणका लागि क्षतिग्रस्त भवनको इन्जिनियरिङ जाँच भइसकेको उनले जानकारी दिए । उनकाअनुसार ६ वटा कोठाहरू पूर्णरुपमा नोक्सान भएका छन् । यसलाई कम खर्चमा एक महिनाभित्र पुनर्निर्माणको काम सक्ने गरी काम अगाडि बढाइएको कार्यालय सचिव डा. अधिकारीले जानकारी दिए ।
उनले भने, ‘हामीले पुनर्निर्माणका लागि सबैभन्दा पहिला भवनलाई इन्जिनियर साथीहरूबाट परीक्षण गरायौं । भवनको परीक्षण गराइसके पछाडि हाम्रा ६ वटा कोठाहरू आगजनीका कारणले पुरै ड्यामेज भएको स्थिति छ । त्यसलाई आगजनीको कारणले ड्यामेज भएको भवन निर्माणका लागि उहाँहरूले विशेष किसिमको तरिका अपनाइरहनुभएको छ । अरू आगलागीबाट भएका क्षतिको बारेमा हामीले भवनलाई पुननिर्माण गरेर अगाडि बढाउन लागिरहेका छौं । काम शुरू भइसकेको छ ।’
उनले हालै पार्टीको सहयोगी दाताहरूको सहयोगमा पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सम्पन्न गरेको जानकारी दिए । पार्टीको महाधिवेशन नजिकिएकाले अस्थायी रूपमा कार्यालयमा टेन्ट हालेर संगठनको काम थालिएको उनले बताए । उनकाअनुसार एमालेको महाधिवेशन आउन ७ हप्ता मात्र बाँकी छ ।
नेकपा (माओवादी केन्द्र) : ५ करोडको क्षति, रेट्रोफिट डिजाइनमा पुनर्निर्माण
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनले कार्यालय क्षतिपश्चात सरसफाइ गरेर कार्यालय पुनः सञ्चालनमा ल्याइएको बताए । उनले हाल झ्याल-ढोका परिवर्तन गर्ने, रंगरोगन गर्ने लगायतका कामहरू भइरहेको जानकारी दिए । निर्माणाधीन भवनबाट नै पार्टीको पदाधिकारी तथा स्थायी समिति बैठकहरू सञ्चालन भइरहेको उनको भनाइ छ । उनकाअनुसार जनवर्गीय संगठनहरूको सहयोग र केन्द्रीय कार्यालयको संयोजनमा मर्मत कार्य भइरहेको छ । उनले पार्टीका डिजिटल डाटा, सदस्यता प्रणाली, वेबसाइट तथा मोबाइल एपलाई अपग्रेड गर्ने कार्यहरू एउटा कोठाबाट भइरहेको जानकारी दिए ।
उनले भने, ‘कार्यालयलाई हामीले अभियानकै रूपमा रंगरोगन गर्ने, जहाँ-जहाँ जलेको छ, त्यहाँ बनाउने । यहाँ हामी जहाँ बसेका छौं, यो सबै जलेको ठाउँ हो । यसलाई हामीले झ्याल ढोका चेन्ज गरेर, रंगरोगन गरेर अब यो निर्माणाधीन नै छ । यसमा केही कोठाहरू, रिसेप्सन लगायत बन्दैछ । मिटिङ हललाई पनि हामीले यहींबाट संचालन गरेका छौं ।’
मुख्यसचिव पुनले आगजनी तथा तोडफोडबाट ५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनले क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने जानकारी दिए । उनले कार्यालयको सबैभन्दा तल्लो तला, आवास क्षेत्र, ग्राउण्ड फ्लोर र पहिलो तला निकै क्षति भएको जानकारी दिए । रेट्रोफिटको डिजाइनको काम इन्जिनियर टोलीले गरिरहेकोले छिट्टै पुनर्निर्माण सम्पन्न गर्ने उनले बताए ।
उनले भने, ‘कार्यालयको सबैभन्दा तल्लो तला, आवास एरिया, ग्राउण्ड फ्लोर, पहिलो तला निकै क्षति भएको छ । रेट्रोफिटको डिजाइन हाम्रो इन्जिनियर टोलीले गरिरहेको छ । यसलाई हामीले पुनर्निर्माण गर्दै यो कार्यालयलाई नयाँ ढंगले कसरी लान सकिन्छ, कसरी बनाउन सकिन्छ भन्ने बारेमा अबको पार्टीको सचिवालयको बैठकबाट निर्णय गरेर त्यसलाई हामी अझै अगाडि बढाउँछौं ।’
नेकपा एकीकृत समाजवादी : १ करोड २५ लाखको क्षति, चन्दा संकलनको भरमा कार्यालय व्यवस्थापन
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले कार्यालयमा भएका सबै सामान लुटपाट भएको बताए । उनकाअनुसार दुई कोठामा तोडफोड र आगो लगाइएको छ भने ल्यापटप, कम्प्युटर, कुर्सी-पंखा सबै लुटिएको छ । पार्टीका आवश्यक कागजातहरू जलेर नष्ट भएका छन् । उनले प्रारम्भिक मूल्यांकन गर्दा करिब १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनले हाल सहयोगी दाताहरूसँग चन्दा संकलन गरी कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए ।
उनले भने, ‘हामी अहिले पार्टीलाई जेनतेन यसो भएका पुराना सामानहरू जोडजाड गरेर, साथीभाइसँग भएका सामानहरू जोडजाड गरेर चलाइरहेका छौं, अहिले हामीले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनौं । मर्मतसम्भार शुरू भएको छैन । अहिले हामीले भएका चीजलाई जोडेर मात्रै चलाईरहेका छौं । अब यो सबै समाल्न र हाम्रो क्षति नै हेर्दा अस्ति सामान्य मूल्यांकन गर्दाखेरि झन्डै एक करोड २५ लाख बराबरको सामान लुटेर लगेको र क्षति भएको देखिन्छ ।’
उनले कार्यालय भाडाको घरमा रहेकोले घरको मर्मत सम्भार गर्ने जिम्मेवारी पनि पार्टीको नै रहेको बताए । एकीकृत समाजवादी पार्टी राजावादीहरूको आन्दोलनका क्रममा पनि क्षति भएको थियो । राजावादीको आन्दोलनका क्रममा क्षति भएको घर मर्मत गर्न २४ लाख रुपैयाँ लागेको उनले जानकारी दिए । हाल त्योभन्दा बढी क्षति भएकोले मर्मत लागत बढ्ने उनको भनाइ छ ।
राजनीतिक दलहरूले आफ्ना पार्टी कार्यालयहरूको पुनर्निर्माण आफैं गर्न थालेका छन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिव भट्टराई पुनर्निर्माणको काम क्षति विवरण संकलन गरेर सरकारले गर्नुपर्ने भएपनि हालसम्म त्यसो हुन नसकेको बताउँछन् । सहयोगी तथा दाताहरूसँग चन्दा संकलन गरेर दलहरूले कार्यालय पुनर्निर्माण तथा सञ्चालन थालेका छन् ।








