नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ: पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उहाँले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन् ।
कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने समेत बताए । चालु केन्द्रीय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दाबी थियो ।
उनले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढ्न पार्टीका युवाहरूलाई आह्वान समेत गरे ।
कार्यवाहक सभापति खड्काले भने ‘वृहत् एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले, विगतको इतिहासको कालखण्डजस्तै फेरि नपाली काँग्रेसबाट अपेक्षा गरेको छ । आशा गरेको छ, भरोसा गरेको छ । हाम्रा विगतमा कमीकमजोरीहरू भए होलान् । ती कमीकमजोरीहरूलाई स्विकार्छौ । नेपाली काँग्रेस संविधानको रक्षाका लागि, परिवर्तनको रक्षाका लागि सार्वभौमसत्ता नेपाली जनताको अधिकारको रक्षा गर्ने कुरालाई शीरमा राखेर हामी वृहत् एकतासहित हामी अगाडि बढ्छौँ भनेर सभापति देउवाले हामी सबैलाई प्रेरित, उत्साहित गर्दै उहाँले त्यो दिनको केन्द्रीय समिति बैठक स्थगन गरेर हामीलाई तपाईँहरू सामूहिक रूपमा एकताबद्ध भएर केन्द्रीय समितिले ऐतिहासिक निर्णय गर्नुस्, जसले भोली नेपाली जनतामा, नेपाली समाजमा, नेपालका राजनीतिक दलहरूमा विगतमा जस्तै अझै पनि नेपाली काँग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता, त्यो योग्यता, संयमता, त्यो धैर्यशीलता र सबैलाईसँगै लिएर जान सक्ने त्यो उद्धार आज पनि नेपाली काँग्रेसमा त्यो हिजो भन्दा जब्बरजस्त रूपमा देखिएको छ भन्ने सन्देश दिनुछ ।’
कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको समेत बताए ।








