शीर्ष नेताहरूको विश्वास- छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने

काठमाडौँ । छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र स्थायित्व सुदृढ पार्ने नेपालका शीर्ष नेताहरूले बताएका छन् ।

छठ पर्व–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गरी यस पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सद्भाव र सहअस्तित्व सुदृढ पार्ने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्ष सबैले छठलाई राष्ट्रिय एकताको प्रतिकका रूपमा चित्रण गर्दै विविधताभित्रको एकता र सहकार्यको आवश्यकता औँल्याएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि यस वर्षले थप सहयोग पुग्ने उनको भनाइ छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता र अखण्डताको सूत्र बलियो बनाउने र सबैलाई खराब आचरण त्याग्न प्रेरित गर्ने बताएका छन् ।

उनले उच्च राष्ट्रियताको भावले अभिप्रेरित गर्ने मद्दत गर्ने उल्लेख गरे । छठ पर्वलाई उनले प्रकृतिप्रति आस्था र पुस्तान्तरण हुँदै गएको मौलिक संस्कृतिको प्रतिकका रूपमा वर्णन गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना सन्देशमार्फत राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिवद्ध रहन सबैलाई आग्रह गरेकी छन् । उनले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको उल्लेख गरेकी छन् ।

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन सफल बनाउन उनले सबै पक्षसँग आग्रह पनि गरेकी छन् । सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उल्लेख गर्दै उनले आफ्ना मुद्दाहरूलाई निर्वाचनबाट अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउनुपर्नेमा जोड दिएकी छन् । छठ पर्वले तराई–पहाडबीचको सांस्कृतिक एकता सुदृढ गर्ने उनको भनाई छ ।

सभामुख देवराज घिमिरेले ‘जेन—जी आन्दोलन’पछि देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दल, युवा र नागरिक समाजबीच साझा सहकार्य अपरिहार्य रहेको बताएका छन् । उनले छठ पर्वले सुशासन, समानता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने अपेक्षा व्यक्त गरे ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गर्दै उनले विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको बताएका छन् ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई नदी वा जलाशयको छेउमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अर्घ्य दिनु छठ पर्वको मुख्य विशेषता हो । मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्साउने गरेको पाइन्छ । चारदिने यो पर्वमा नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने विधिहरूसँगै व्रतालुहरूले नदी, पोखरी र जलाशयमा पूजाआराधना गर्दै परिवार र समाजको कल्याणको कामना गर्ने गर्दछन् ।

छठ पर्वको अवसरमा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, प्रतिनिधि सभाकी उपसभापति इन्दिरा रानामगर र राजनीतिक दलका प्रमुखहरूले पनि शुभकामना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =